Logo

जब ओलीले चुनावी सरकारको प्रधानमन्त्री दाबी गरे…



काठमाडौं, ७ फागुन । ५ फागुनको साँझको बालकोट बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक लेनदेनमा दुई चरणमा वार्ता भयो । दुई घन्टाबीच दुईपटक भेटेका नेताहरुको मूल मुद्दा एमसीसी पारित गर्ने नै थियो ।

देउवाले एमसीसी पारित गर्न साथ दिन प्रस्ताव गरे । त्यसमा ओलीको सकिने जति माग पूरा गर्ने जवाफ दिए । ओलीले सभामुखको बर्हिगमन देखि महाभियोगका विषयहरु उठाए । एमसीसीमा अझै स्पष्ट हुन तयार भएनन् । देउवा ओलीको कुरा सुनेर बाहिरिए ।

बालुवाटार जाँदै गर्दा फोन आयो । ओलीले देउवालाई पुनः डाके । गाडी मोड्न लगाएर देउवा पुनः बालकोट फर्किए । पत्नी आरजु देउवासहित पुगेका देउवाले ओलीको कुरा सुने ।

विश्वस्त स्रोतका अनुसार ओलीले प्रदेश सरकारमा नेतृत्व देखि केन्द्र सरकारमा आलोपालो नेतृत्वको विषय उठाए । उनले चुनावी सरकारको नेतृत्वको दाबी गरे । एमसीसी पारित गर्ने सर्तमा ओलीले चुनावी सरकारको नेतृत्व नै मागेपछि देउवा सकारात्मक हुन सकेनन् ।

ओलीले बार्गेनिङ बढाउन थालेको भन्दै देउवाले गठबन्धन नै टिकाएर एमसीसीबारे निर्णय गर्ने तयारी गरे । ६ फागुनमा केही सकारात्मक छलफल भयो ।

काँग्रेसभित्र रामचन्द्र पौडेल समूह गठबन्धन जोगाउनुपर्ने पक्षमा छ । एमसीसीमा गठबन्धनलाई लगाउनुपर्ने पक्षमा छ । तर, कोइराला परिवारका सदस्यहरु एमसीसीका लागि गठबन्धन तोड्न तयार हुनुपर्ने पक्षमा छ । त्यसका लागि ओलीसँग राजनीतिक लेनदेनका लागि पनि तयार हुनुपर्ने उनीहरुको लाइन रहेको बुझिएको छ । पूर्वमहामन्त्री डा. सशांक कोइरालाले गठबन्धन कि एमसीसी हुँदा गठबन्धन तोडेर भएपनि एमसीसी पारित गर्नुपर्ने बताइसकेका छन् ।

एमसीसी पारित गरिछाड्ने अडानमा रहेकाले देउवाले कि गठबन्धनलाई मनाउने होइन भने ओलीसँगै समझदारी गर्ने माहोल विकास हुँदै गएको छ । तर, ओलीले मागेजस्तो चुनावी सरकारको प्रधानमन्त्री छाड्न तयार छैनन् । प्रदेश सरकारलगायतका विषयमा देउवाले भविष्यमा सर्त मान्ने जवाफ दिएको बुझिएको छ । उनले बरु सरकारमा ओलीले मागेको महत्वपूर्ण मन्त्रालयहरु दिने जवाफ दिएको विश्वस्त स्रोतले बताएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot