Logo

कोरोना प्रभावितलाई सहुलियतः १७ हजारभन्दा बढी लाभान्वित



काठमाडौं, फागुन ८ । कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीतिमार्फत दिएको नीतिगत सहुलियतबाट १७ हजारभन्दा बढी ऋणी प्रत्यक्ष लाभान्वित भएका छन् ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामार्फत प्रदान गरेको सहुलियत दरको पुनर्कर्जा सुविधाका साथै कर्जा भुक्तानी अवधि थप, पुनःसंरचना तथा पुनर्तालिकीकरणलगायत सुविधाबाट सर्वसाधारणले लाभ लिएका हुन् । तर, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट यसलाई हटाउँदै सामान्य अवस्थामा फर्कने संकेत गरेपछि उद्योगीहरूले आपत्ति व्यक्त गरेका छन् ।
राष्ट्र बैंकले कोभिड प्रभावित व्यवसायलाई ५ प्रतिशत ब्याजदरमा दिएको विशेष पुनर्कर्जा सुविधा १ हजार ६८७ ऋणीले पाएका छन् । उनीहरूले चालू आवको पुससम्म ८ खर्ब ७९ अर्ब पुर्नकर्जा सुविधा लिएका हुन् ।
बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरेका ऋणीमध्ये कोभिड–१९ का कारण वित्तीय अवस्था तथा नगद प्रवाहमा नकारात्मक असर परेका ऋणीहरूलाई बैंक तथा वित्तीय संस्था स्वयंले विश्लेषण गरी किस्ता रकम घटाई भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था गरेको थियो । उक्त सुविधाबाट २०७८ पुस मसान्तसम्म १ हजार ५५८ ऋणीको ५ अर्ब २८ करोड कर्जाको भुक्तानी अवधि थपिएको थियो ।
निषेधाज्ञा अवधिको २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ईएमआईरईक्यूआई वा अन्य साँवा ब्याज भुक्तानी गर्न नसकेका ग्राहकलाई बैंकहरूले मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्म भुक्तानी म्याद थप गर्न सक्ने व्यवस्था गरेपछि २०७८ पुस मसान्तसम्म १२ हजार ३ सय ऋणीको १३ अर्ब ८८ करोड कर्जाको भुक्तानी अवधि थप भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot