काठमाडौं, फागुन ८ । आज प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्नि सापकोटाको आह्वानमा आजको बैठक बस्न लागेको हो । अहिले बिहान साढे ११ बजे बस्ने तयारीमा रहेको परामर्श समितिको बैठकमा एमसीसी संसदमा टेबुल गर्नेबारेमा छलफल हुँदैछ ।
आजै दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । त्यसअघि परामर्श समितिको बैठक बोलाइएको हो । यसअघि दलहरुबीच राष्ट्रिय सहमति नबन्दा पटक पटक प्रतिनिधिसभा बैठक स्थगित हुदै आएको छ । प्रतिनिधिसभाको बैठकअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।
नेपाली कांग्रेसले एमसीसी आज संसदमा टेबुल गर्ने बताएपनि सत्ता गठबन्धनमा भने एमसीसीबारे सहमति जुट्न सकेको छैन । संघीय संसदका महासचिव भरतराज गौतमले शनिबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वाषिर्क प्रतिवेदन २०७७/७८ प्रतिनिधि सभामा पेश गर्ने मात्रै उल्लेख छ । एमसीसीको विषय भने उल्लेख गरिएको छैन ।