काठमाडौं, ८ फागुन । नेकपा एमालेका नेता विष्णु रिजालले एमसीसी प्रकरणमा सत्तारुढ दलको द्वैध चरित्र र ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास भएको बताएका छन् ।
सत्तारुढ पाँच दलीय गठबन्धनले एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल हुन दिने निर्णय गरेको केहि समयपछि सामाजिक सञ्जालमार्फत ट्विटर मार्फत रिजालले यस्तो बताएका हुन् ।
‘एमसीसी प्रकरणमा सत्तारुढ दलको द्वैच चरित्र र ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास भएको छ । एकातिर आफ्ना भातृ संगठनलाई काला ब्यानर बोकाएर सडकमा उतार्ने, पार्टीका बैठकमा ुएमसीसी पारित गरिन्नु भनेर निर्णय गर्ने अर्कातिर अमेरिकासँग ‘चार–पाँच महिनामा पारित गर्छौं’ भनेर लिखित कागज गर्ने र दृश्यरअदृश्य बैठकबाट एमसीसीलाई सदनमा पेश गर्न ‘सर्वसम्मत हुने’ विरोधाभाषी र निर्लज्ज निर्णय गर्नु जसरी पनि सत्तामा बसिरहने लालचबाहेक केही होइन ।सत्तारुढ गठबन्धनसँग बहुमत छ– एमसीसी पेश गर्न मिल्छ, पारित गर्न पनि मिल्छ । तर, आफैँ पेश गर्ने र आफैँ विरोध गरेर दुनियाँ हँसाउन मिल्दैन । मन्त्रिपरिषद्ले एमसीसी अघि बढाउने भएकाले हिम्मत छ भने त्यसमा सहमत नभएकाहरुले राजीनामा दिएर देखाए हुन्छ,’ उनले लेखेका छन् ।