काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता नवराज सिलवालले गठबन्धनका केही घटकले एमसीसीको बारेमा कलात्मक नाटक मञ्चन गरेको टिप्पणी गरेका छन् ।
नेता सिलवालले सामाजिक सञ्जालमार्फत नेकपा माओवादी केन्द्रले एमसीसी पास गराउन चाँजोपाँजो मिलाएर जनता झुक्याउने षड्यन्त्रको साथ संसदमा कलात्मक नाटक मञ्चन गरेको आरोप लगाएका हुन् ।
उनले माओवादीले सत्ताभोग निरन्तर कायम राख्न अभीष्टका साथ एमसीसी पास गर्न कलात्मक नाटक गरिरहेको बताएका छन् ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी पास गर्न सहमति गर्ने अर्कोतिर सचेतक देव गुरुङले एमसीसीको विरोध जनाएपछि सिलवालले यस्तो टिप्पणी गरेका हुन् ।
नेता सिलवालले लेखेका छन्,‘ गठबन्धनका केही घटकको विचित्र चरित्र आज फेरि सार्वजनिक रूपमा छरपष्ट भएको देखियो। सत्ताभोग निरन्तर कायम राख्ने अभिष्टकासाथ MCC पास गर्ने चाँजोपाँजो मिलाउने। अनि जनता झुक्याउने षढयन्त्रका साथ संसदमा कलात्मक नाटक मन्चन गर्ने। जनता त्यो स्तरको अवुझ छ भन्ने उनीहरूको वुझाई नग्न अज्ञानता मात्र हो।’