Logo

एमसीसी फेल गराएर विजेता देखिने प्रचण्डको दाउ



काठमाडौं, ८ फागुन । सत्ता गठबन्धन जोगाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चतुरता देखाएका छन् । उनले राजनीतिक लेनदेन गरेर एमसीसी प्रतिनिधि सभामा टेबल हुने अवस्था बनाइदिएका छन् ।

आज प्रतिनिधि सभामा एमससी टेबल भएको छ । लगत्तै उनले विरोधका बाबजुद टेबल भएको भन्दै एमसीसी पारित गर्ने पक्षमा नभएको स्पष्ट पारेका छन् । एमसीसी टेबल गर्न नदिएको भए सत्ता गठबन्धन तोडिने थियो । प्रचण्डले माधवकुमार नेपाल र उपेन्द्र यादवको समन्वयमा देउवासँग राजनीतिक लेनदेनबाट टेबल गर्ने परिस्थिति निर्माण गरिदिए ।

एमसीसी सदनमा टेबल भएपनि पास हुने सम्भावना न्यून छ । प्रचण्ड कुनै हालतमा पास गर्ने पक्षमा छैनन् । माधवकुमार नेपाल पनि टेबल गर्ने पक्षमा भएपनि पास गर्ने पक्षमा छैनन् । एमसीसी गठबन्धनबाट पास नहुने निश्चितप्रायः छ ।

देउवाले साँच्चै एमसीसी पास गर्ने हो भने या त गठबन्धनलाई मनाउन लाग्नेछन् या त विकल्पमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक लेनदेनबाट सहमति निकाल्नेछन् । ओलीले सहमतिका लागि ठूलै माग राखेका छन् । उनी फेरि प्रधानमन्त्री बन्ने दाउमा छन् । जसलाई देउवाले मान्ने सम्भावना लगभग छैन ।

एमसीसी सदनबाट पारित नभएमा प्रचण्डले विजेता झै आफूलाई प्रस्तुत गर्नेछन् । देउवा एमसीसीको पक्षमा खुलेका छन् । ओली विगतमा पक्षमा थिए अहिले स्पष्ट छेनन् । विरोधमा देखिएका प्रचण्ड नै हुन् । एमसीसी पारित नहुँदा उनको सफलता देखिन्छ ।

देउवाले भने एमसीसी पारित नभए आफूले टेबल गराएको भन्दै आफ्नो बचाऊ गर्न सक्छन् । तर, एमसीसीलाई प्रतिष्ठाको विषय बनाएका उनीमाथि नैतिक दबाब बढ्न सक्छ । प्रधानमन्त्रीबाट हट्नुपर्ने अवस्था आउन सक्छ ।

प्रचण्डले एमसीसी असफल बनाएर राजनीतिक जित देखाउन खोज्दैछन् । अर्कोतर्फ, एमसीसी विरोधी जनमत पक्षमा पारेर चुनावमा सफलता हासिल गर्ने मार्ग बनाउने प्रयास गर्नेछन् । उनी जसरी पनि विजेता देखिने दाउमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot