काठमाडौं, ८ फागुन । प्रवासी नेपाली एकता समाजले राष्ट्रिय प्रजातन्त्र पार्टीमै रहने निर्णय गरेको छ । समाजका अध्यक्ष प्रेम कुमार श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्तिमा पार्टीभित्र सामान्य असहमति देखिनासाथ टुटफुट, विभाजनमा गइहाल्ने प्रवृत्तिलाई निरुत्साहित गरिनुपर्ने भन्दै आफूहरु पार्टीको मूलधारमा रहने प्रतिवद्धता विज्ञप्तीमा उल्लेख गरिएको छ ।
राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायतका राष्ट्रिय प्रजातन्त्र पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहेको पनि समाजले जनाएको छ ।
त्यस्तै बैठकले ज्ञानेन्द्र शाहीको नेतृत्वमा रहेको हाम्रो नेपाल हामी नेपाली अभियान औपचारिक रुपमा राप्रपामा समायोजन भएकाले प्रवासी नेपाली एकता समाजको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय समितिहरुमा उक्त अभियानलाई समाहित गर्ने निर्णय भएको श्रेष्ठले जनाएका छन् ।