काठमाडौं, ९ फागुन । नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टी नेतृत्वलाई एमसीसीबारे दोहोरो नीति अलवम्बन नगर्न ध्यानाकार्षण गराएका छन् । पार्टीको सचिवालय बैठक बसिरहेको ठाउँमा पुगेर मन्त्रीहरु रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठले अहिलेको अवस्थामा एमसीसीबारे पार्टीले स्पष्ट नीति लिनुपर्ने कुरा राखेका थिए ।
उनीहरुले अध्यक्ष माधवकुमार नेपाललाई एमसीसीको विपक्षमा उभिने हो भने सोहीअनुसार अघि बढ्नुपर्ने धारणा राखेका थिए । सरकारमा पनि पार्टी रहने अनि एमसीसीको विरोधमा सडक प्रदर्शन पनि गर्ने कुरा शोभनीय नभएको उनीहरुको भनाई थियो । सरकारमा सहभागी नेकपा (एस) का मन्त्रीहरु एमसीसीको पक्षमा उभिएका छन् ।
उनीहरुकै दबाबका कारण माधव नेपालले हिजोको संसद् बैठकमा एमसीसी टेबुल गर्न दिने सहमति जनाएको बुझिएको छ । तर, सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसहितका नेताहरु भने एमसीसी टेबुल गर्न दिएकोप्रति माधव नेपालसँग समेत असन्तुष्ट छन् ।
उनीहरुले पार्टीमा गम्भीर समिक्षा हुनुपर्ने आवाज उठाएका छन् । तर, माधव नेपालले हिजो संसद् बैठकबाट बाहिरिने क्रममा आफूहरु एमसीसीको विपक्षमा उभिने बताईसकेका छन् । प्रतिनिधिसभाको अबको बैठक फागुन १२ गते बस्दैछ ।