Logo

सुरुङ मार्गको ४५ प्रतिशत काम सकियो



काठमाडौं, फागुन १०। नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ । अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ मिटर चौडा भएको मुख्य र ४.७५ मिटर चौडाइ भएको दोस्रो सुरुङ खनिएको छ ।

सुरुङ मार्गमा खटिएका प्राविधिक टोलीका सहसंयोजक (डेपुटी टिम लिडर) इन्जिनियर अच्युत भट्टका अनुसार नागढुङ्गातर्फको नाकाबाट मुख्य सुरुङको चार सय ७४ दशमलव २० मिटर टनेल खनिएको छ । नौबिसेतर्फको नाकाबाट पनि ४७४.४ मिटर सुरुङ खनिसकिएको छ ।

सहायक सुरुङको नागढुङ्गा नाकाबाट ७९० मिटर र नौबिसेतर्फको नाकाबाट ५७० मिटर खनिसकिएको छ । मुख्य सुरुङको कुल लम्बाइ दुई हजार ६८८ र सहायक सुरुङको कुल लम्बाइ दुई हजार ५५७ मिटर छ । भट्टले भजे, “समग्रमा आजसम्म ४५ प्रतिशत काम सकिएको छ । तोकिएकै समयमा निर्माण सक्ने गरी काम भइरहेको छ ।”

मुख्य सडकबाट मोटरसाइकल, पेट्रोलियम पदार्थ तथा विस्फोटक पदार्थ बोकेका र गह्रौँ तौल हुने सवारी साधनबाहेक अन्यलाई गुड्न दिइनेछ । दोस्रो सुरुङबाट मुख्य सडकमा सवारीसाधन बिग्रेमा वा कुनै समस्या आएमा आपत्कालीन उद्धारका लागि खटिनुपर्ने सवारीसाधनलाई मात्रै प्रवेश दिइने भट्टले जानकारी दिए । उजका अनुसार मुख्य र सहायक सुरुङ मार्गलाई जोड्न सातवटा पहुँच मार्ग बनाइनेछ । जुन मार्गबाट आवश्यकताअनुसार दुवै सुरुङ मार्गका विशेष अवस्थाका सवारी साधनलाई आवातजावात गर्न दिइनेछ ।

सुरुङ खनिसकेपछि त्यहाँ ३० सेन्टिमिटर बाक्लो ढलान गरिनेछ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot