काठमाडौं, १० फागुन । नेकपा (एकीकृत समाजवादी) पार्टीले एमसीसी पास वा फेलको लागि हुने मतदानमा आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने भएको छ । पछिल्लो समय पार्टीमा सांसदहरुलाई स्वतन्त्र छोड्नुपर्ने मत हावी भएपछि नेतृत्व पनि यही निश्कर्षमा पुगेको बताईएको छ ।
सांसद मेटमणि चौधरीले पनि आफ्नो पार्टीले सांसदहरुलाई एमसीसीको विषयमा संसद्मा ह्वीप नलगाउने स्पष्ट पारिसकेका छन् । नेकपा (एस) मा पछिल्लो समय एमसीसीको पक्षमा मत बलियो भएको एक नेताले जनाए । अध्यक्ष माधवकुमार नेपाललाई सरकारमा सहभागी मन्त्रीहरुले एमसीसीको पक्षमा पार्टीलाई उभ्याउनुपर्ने दबाब दिएका थिए ।
सोहीअनुसार अध्यक्ष नेपालले गठबन्धनको बैठकमा पनि एमसीसी सदनमा टेबुल गर्न सहमति दिएका थिए । हिजो बसेको सचिवालय बैठकमा पनि पार्टी एमसीसीको विपक्षमा गए ठूलो क्षति व्यहोर्नुपर्ने निश्कर्ष निकालिएको छ । सम्मानित नेता झलनाथ खनालबाहेक सबै नेताहरु एमसीसीको पक्षमा उभिने निर्णयमा पुगेको एक नेताले जनाए ।
एमसीसीबारे फागुन १२ गते बस्ने प्रतिनिधिसभाको बैठकमा छलफल गराउने सभामुख अग्निप्रसाद सापकोटाको तयारी छ । अमेरिकाले फागुन १६ गतेभित्रै एमसीसी पास गराउन दबाब दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भने गठबन्धनमा सहमति गराएर नै एमसीसी पास गराउनेगरि लागिपरेका छन् ।