Logo

जसपाले पनि एमसीसीमा ह्वीप नलगाउने, उपेन्द्र यादव अल्पमतमा



काठमाडौं, १० फागुन । जनता समाजवादी पार्टी, नेपालले एमसीसीबारे आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने भएको छ। पार्टीमा अध्यक्ष उपेन्द्र यादव समूह एमसीसीको विपक्षमा देखिएपनि संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह एमसीसीको पक्षमा देखिएको र उक्त समूह बहुमतमा रहेकोले एमसीसीबारे ह्वीप नलगाउने जसपाको तयारी छ ।

बाबुरामले एमसीसी बिना शर्त पारित गराउनुपर्ने आवाज उठाउँदै आएका छन् । निकै विरोध र विवादका बावजुद एमसीसी सदनमा टेबुल भएको छ । अब प्रतिनिधिसभाको बैठक फागुन १२ गते दिउँसो १ बजे बस्दैछ ।

उक्त बैठकमा एमसीसीबारे छलफल हुने बताईएको छ । अमेरिकाले एमसीसी सदनबाट अनुमोदन गर्नको लागि फागुन १६ गतेको समयसिमा दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि अमेरिकाले दिएको समयसिमाभन्दा अगावै एमसीसी पास गराउन चाहन्छन् ।

उनले हिजोदेखि आफूलाई सक्रिय तुल्याएका छन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा पनि एमसीसीको पक्षमा माहोल बनिरहेको दाबी आएको छ । सत्ता गठबन्धनमा अब नेकपा (माओवादी केन्द्र) र जनमोर्चामात्रै एमसीसीको विपक्षमा उभिने निश्चित् भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्