काठमाडौं, १० फागुन । लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) ले फागुन ११ गते (बुधबार) वार्षिक साधारण सभा गर्दैछ । कम्पनीले सभामा २१.०५ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ ।
कम्पनीले आर्थिक वर्ष २०७६–७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
साथै, उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । प्रस्तावित बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ । साथै, १० प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पनि रहेको छ ।
सभा एलआइसी शिक्षालय हल, नक्साल काठमाडौंमा बिहान ११ः१५ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरिसकेको छ ।