विराटनगर, १० फागुन । हत्याका अभियुक्त कतिसम्म चलाख हुन्छन् भन्ने मोरङको कानेपोखरी गाउँपालिकाको घटनाबाट देखिन्छ । लेनदेनमा विवाद भएपछि योजनावद्ध तरिकाले एक व्यक्तिले भारतीय ठेकेदारको हत्या गरे ।
मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित डाँसखोलाको पुलको ‘पायलिङ मेसिन’ का ठेकेदार भारतीय नागरिक ५० वर्षीय रामकिसन मिर्णाको हत्या भएको थियो । घटनामा उदयपुरको कटहरी घर भई पथरीमा बस्दै आएका २८ वर्षीय कमल थापा संलग्न भएको खुलेको छ । नाम कमल थापा भनेपनि उनको वास्तविक नाम कमल विक हो । कमल मृतक रामकिसनसँगै ‘पायलिङ मेसिन’ मा काम गर्दै आएका थिए ।
कमल पुल बनाउन प्रयोग हुने पायलिङ मेसिनको रेखदेख र ठेक्का लगाउने काम गर्थे । काम गरेबापत आएको रकमको हिसाब नमिलेपछि २६ माघको राति रामकिसनको हत्या गरेको खुलेको छ । हत्या गरेको १३ दिनपछि ९ फागुनमा कमल पक्राउ परेका हुन् ।
रामकिसनले पाँच वर्षदेखि नेपालका विभिन्न स्थानमा निर्माणको ठेक्का लिएर काम गर्दै जाँदा कमलसँग उनको चिनजान भयो । प्रहरीका अनुसार ‘वीरगञ्जमा साइट हेर्न जाऊँ भन्दै २३ माघमा कमलले रामकिसनलाई लिएर हिँडे । भारतीय नम्बर प्लेटको कारमा पथरीबाट रामकिसनले गाडी हाँकेर वीरगञ्जतिर हिँडेका थिए । २४ माघमा वीरगञ्जस्थित नारायणी हस्पिटलमा चलिरहेको साइट हेरेर उनीहरू त्यहीँ बसे । २५ माघमा रामकिसनले कार हाँकेकोले कमलले बाटोमा गाडी रोक्दै मदिरा सेवन गरे ।
मिर्चैया आएपछि दुवैबीच झगडा भएको थियो । रामकिसनले कमललाई थप्पप हानेपछि रिसाए । त्यसपछि कमलले मोबाइल चार्ज गर्ने तारले रामकिसनको घाँटी बाँधेर हत्या गरेको बयानको क्रममा स्वीकार गरेको बुझिएको छ ।
हत्या पछि रामकिसनको शव कारको डिक्कीमा राखेर आफै गाडी चलाएर उदयपुरको जङ्गलरतिर लगेको खुलेकोछ । कटहरी नगरपालिका–८ पटना भञ्ज्याङस्थित सिद्धिचरण राजमार्गबाट करिब २० मिटर तल शव फालेर कमल हिँडेको प्रहरीले जनाएको छ । २६ माघ को राति २ बजेतिर शव फालेका थिए ।
त्यसपछि उक्त गाडी भारतको वीरपुरस्थित स्कुलको कम्पाउण्डमा लगेर राखिदिएका थिए । ‘कारको चाबी बाटोमा फालिदिएको र रामकिसनले बोक्ने गरेको मोबाइल र सिमकार्ड सप्तकोसी नदीमा फालिदिएक थिए ।
हत्यापछि उनी २७ माघमा काममा फर्किएका थिए । उनैले रामकिसन हराएको सूचना प्रहरीमा दिएका थिए । परिवारले खोजबिनका क्रममा कार वीरपुरमा भेटेको थियो । त्यसपछि हराएको उजूरी दिने कमलमाथि शंकाको सुई घुम्यो ।
कमल रामकिसनसँगै वीरगञ्ज गएको प्रमाण फेला परेपछि सोधपुछका क्रममा खुलेको प्रहरीले जनाएको छ । ७ फागुनमा उनको शव भेटिएको थियो । ‘