१० फागुन : संयुक्त राष्ट्रसंघले सोमालियाका करिब ५५ लाख नागरिकका लागि तत्काल खाद्य सहायता उपलब्ध गराउनुपर्ने बताएको छ । यहाँ अहिलेसम्म करिब ५५ लाख मानिसले खाद्यान्नको अभाव झेलिरहेका र तीमध्ये १४ लाख बढी बालबालिका रहेका छन् ।
संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले त्यहाँ विकराल बन्दै गएको र खडेरीका कारण लाखौं मानिसहरु भोकमरीको गम्भीर अवस्था सामना गर्न बाध्य भएका बताएको छ ।
सोमालियाका लागि राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रतिनिधि आदम अब्देलमौलाले त्यहाँ अहिले ठूलो संख्याका मानिस खाद्यान्न अभावको चपेटामा परेका र उनीहरु खासगरी खडेरीका कारण यस्तो अवस्थामा परेका बताएका छन् ।
उनले चरम भोकमरीका कारण त्यहाँका ५ वर्ष मुनिका लाखौँ बालबालिका समेत कुपोषित भएको र तत्काल उपचार नगरे उनीहरुको ज्यानै जानसक्ने बताए । त्यसैले राष्ट्रसंघले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदाय समक्ष अपिल गरेको पनि उनले बताएका छन् । ती बालबालिकाका लागि आवश्यक खाद्यान्न र उपचारका लागि पनि तत्कालै सहयोग आवश्यक रहेको जनाइएको छ ।
भोकमरीका कारण त्यहाँका करीब ५ लाख मानिसहरु खानेकुराको खोजीमा अन्य स्थान पलायन भइसकेका छन् । करीब २९ लाख मानिस देशभित्रै विस्थापित भएका छन् ।-सिन्ह्वा/Photo: Agency