Logo

एमसीसीमा देउवा र प्रचण्डमध्ये कस्ले मार्ला बाजी ?



काठमाडौं, १० फागुन । एमसीसीमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये कस्ले मार्ला बाजी ? अब कुनै तलमाथि नभए १६ फागुनभित्र छिनोफानो हुनेछ ।

देउवा र प्रचण्ड सत्ता गठबन्धनमा भएपनि एमसीसीको सवालमा पक्ष या विपक्षमा छन् । देउवा एमसीसी कुनै हालतमा पारित गर्ने पक्षमा छन् । यसको ठिक विपरित प्रचण्ड एमसीसीको विपक्षमा उभिएका छन् । देउवा सत्तामा बसेर एमसीसी पारित गराउने गृहकार्यमा जुटिरहेका छन् ।

प्रचण्डले सत्ता, सदन र सडक तीनवटै शक्ति लगाएर एमसीसी रोक्न खोजिरहेका छन् । सभामुख प्रचण्डनिकट अग्नि सापकोटा हुनुको पनि प्रचण्डलाई फाइदा छ ।

प्रचण्ड एमसीसी फेल हुनेमा ढुक्क छन् । उनी देउवालाई मनाएर यसलाई थाती राख्न प्रयासरत छन् । प्रचण्ड सत्ता गठबन्धन जोगिने दाबी गरिरहेका छन् । तर, देउवा कुनैपनि विकल्पमा गएर एमसीसी पारित गर्ने पक्षमा बढेका छन् ।

गठबन्धन भत्कने डर प्रचण्डलाई भन्दा देउवालाई देखिदैछ । प्रचण्ड एमसीसी पारित गर्न देउवा अगाडि बढेमा गठबन्धन छाड्ने धम्की दिइरहेका छन् । देउवाले विकल्पमा एमाले अध्यक्ष केपी शर्मा ओली देखेका छन् । तर, ओली एमसीसीबारे प्रष्ट छैनन् । उनले एमसीसीलाई राजनीतिक सौदावाजीको विषय बनाएका छन् । ओली यही विषयले सत्तामा पुग्ने मौका पनि देखिरहेका छन् । देउवा यसकारण अप्ठ्यारोमा छन् ।

सत्ता गठबन्धन पनि टिकाउने र एमसीसीमा पनि निकास दिने विषयमा केही नेताहरु सक्रिय भएका छन् । तर, त्यसका लागि एमसीसी थाती राख्नुपर्ने अवस्था बन्न सक्छ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल गठबन्धन जोगाउने गरी राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । उनले प्रचण्ड र माधव नेपालसँग यसबारे कुराकानी गर्दै आएका छन् । माओवादी केन्द्रका कृष्णबहादुर महराको सक्रियता पनि बढेको छ । उनी पनि गठबन्धन जोगाउने गरी मध्यमार्गी बिन्दु तयार गर्न लागेका छन् ।

प्रचण्डले पौडेलसँगको भेटपछि एमसीसीको पनि निकास निकाल्ने र गठबन्धन पनि नटुट्ने पत्रकारहरुलाई बताएका थिए । उनी निकै ढुक्क भएर यस्तो बताइरहेका थिए । एमसीसी टेबल भइसकेकाले अड्काउने प्रयास भइरहेको छ । अमेरिकासँग कुरा गरेर केही समय थाती राख्ने प्रयास भइरहेको छ । तर, अमेरिका एमसीसी १६ फागुनभित्र टुंगो लगाउनुपर्ने पक्षमा अडिग छ ।

एमसीसी पारित गर्न देउवाले ठूलै त्याग देखाउनुपर्छ । त्यस्तो अवस्थामा मात्र उनले एमसीसी पारित गराएर बाजी मार्न सक्छन् । प्रचण्ड जस्तोसुकै त्याग गरेर भएपनि एमसीसी असफल बनाउन लागिरहेका छन् । यसका लाग सत्ता छाड्ने तम्तयारीमा छन् । उनको आक्रामक शैली देउवाका लागि चुनौती बनेको छ । देउवाले भने रक्षात्मक शैली अपनाइरहेका छन् । अब जो आक्रामक तरिकाले प्रस्तुत हुन्छ त्यो विजेता बन्न सक्छ ।

एमसीसीमा ओलीलाई जस्ले साथमा लिनसक्छ उसैको पल्लाभारी हुनसक्छ । प्रचण्ड सबै विकल्पका साथ बढिसकेका छन् । देउवा भने सत्ता पनि जोगाउने गरी बढ्न खोज्दैछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot