काठमाडौं, ११ फागुन । आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिन । ७१ वर्ष पुगेका ओलीले जन्मदिनमा पनि सर्वोच्च अदालतका चार न्यायाधीशहरु तारोमा रहेको सन्देश दिन छाडेनन् ।
उनले नाम नतोकी चार न्यायाधीश लगाएर एमालेलाई पछार्न खोजिएको टिप्पणी गरे । उनले भने, ‘अलिकति जमिनबाट छुटायो भने त सर्वोच्च अदालतमा लगेर चार न्यायाधीशले पनि पर्छादा रहेछन् एमाले जस्तो पार्टीलाई ।’
ओलीको स्पष्ट संकेत कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीशहरु मीरा खड्का, आनन्दमोहन भट्टराई र इश्वरीप्रसाद खतिवडातर्फ थियो । यी ४ न्यायाीशसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा गठित संवैधानिक इजलासले प्रतिनिधि सभा पुनःस्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । जबरा महाभियोगका कारण निलम्बित छन् । कार्कीसहित ४ न्यायाधीश पदमै छन् ।
ओलीले ४ न्यायाधीशविरुद्ध महाभियोग लगाउने तयारी समेत गरिसकेका छन् । उनले ६ वटा खाली कागजमा एमालेका सांसदहरुलाई हस्ताक्षर गर्न लगाएर राखेका छन् । कुनैपनि बेला महाभियोग लगाउनसक्ने सम्भावना देखिएको छ ।
सत्ता गठबन्धन भत्किएमा जबरा अदालतमा फर्कने सम्भावना रहन्छ । त्यतिबेला ओलीको तारोमा परेका ४ न्यायाधीशविरुद्ध महाभियोग लाग्नसक्छ । ओलीले जन्मदिनमा चार न्यायाधीशविरुद्ध दिएको अभिव्यक्ति यसकारण पनि अर्थपूर्ण छ ।