Logo

एमसीसीबारे फेरि बोल्यो चीन : उपहार कहिलेदेखि अल्टिमेटमसहितको प्याकेजमा आउन थाल्यो ?



काठमाडौं, ११ फागुन । एमसीसीलाई लिएर चीन फेरि बोलेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले अमेरिकाले नेपाललाई दिने एमसीसीमार्फतको अनुदान उपहार हो कि पाण्डोराको बाकस हो भनि प्रश्न गरेकी छिन् । यसअघि पनि चीनले अमेरिकाको धम्कीपूर्ण कुटनीतिको विरोध गर्ने जनाईसकेको थियो ।

नेपालमा एमसीसी सदनमा टेबुल भएको छ। अमेरिकाले यही फागुन १६ गते अर्थात फेब्रुअरी २८ भित्र पारित गराउन समयसिमा दिएको छ । आज (बुधवार) आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता चुनयिङले नेपाललाई एमसीसी अमेरिकाको उपहार हो कि पाण्डोराको बाकस हो भनी कटाक्ष गरेकी हुन् ।

उनले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी अनुमोदन नगरे नेपालसँगको सम्बन्ध पनि पूनरावलोकन गर्ने भनेर भनेको कुरा पनि आफूले नोटिस गरेको उल्लेख गरिन् ।

नेपालस्थित् अमेरिकी दूतावासले एमसीसीमार्फत नेपाललाई दिईने ५ सय मिलियन डलर अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार भनेर भनेकोप्रति उनले टिप्पणी गरेकी छिन् । उनले उपहार कहिलेदेखि अल्टिमेटमसहितको प्याकेजमा आउन थाल्यो ? भनेर प्रश्न गरेकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्