Logo

कृषि, ऊर्जा र लघु उद्यममा तोकिएको कर्जा पुर्‍याउन समय थप



काठमाडौं, फागुन १२ । नेपाल राष्ट्र बैंकले कृषि, ऊर्जा, लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा तोकिएको न्यूनतम कर्जा लगानी पुर्‍याउन समय थप गरेको छ ।

केन्द्रीय बैंकले बुधवार परिपत्र जारी गर्दै कृषिमा कुल कर्जाको न्यूनतम १५ प्रतिशत, ऊर्जामा १० प्रतिशत र लघु, घरेलु, साना एवम् मझौला उद्यममा १५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने समयसीमा २०८२ असारसम्म पुर्‍याएको हो । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र कोभिड प्रभावको कारण देखाउँदै प्राथमिकताप्राप्त क्षेत्रमा तोकिएको कर्जा लगानी गर्न बैंकहरूले थप समय मागेपछि राष्ट्र बैंक लचिलो भएको हो ।

‘कोभिड–१९ को महामारीका कारण २ वर्ष बैंकहरूले चाहेअनुसार कर्जा विस्तार गर्न सकेनन्,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भने, ‘त्यसैले प्राथमिकताप्राप्त क्षेत्रहरूमा तोकिएको कर्जा पुर्‍याउने समयसीमा थप गरेका हौं ।’

नयाँ कार्यतालिका अनुसार वाणिज्य बैंकहरूले कृषिक्षेत्रमा २०७९ असारसम्ममा १२ प्रतिशत, २०८० असारसम्ममा १३ प्रतिशत, २०८१ असारसम्ममा १४ प्रतिशत र २०८२ असारसम्ममा १५ प्रतिशत पुर्‍याउनुपर्नेछ । ऊर्जामा २०७९ असारमा ६, २०८० असारमा ७, २०८१ असारमा ८ र २०८२ असारमा १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्नेछ ।

लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा २०७९ असारसम्ममा ११, २०८० असारमा १२, २०८१ असारमा १३ र २०८२ असारमा १५ प्रतिशत कर्जा दिनुपर्ने निर्देशनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुससम्ममा बैंकहरूले कृषिक्षेत्रमा औसत १२ दशमलव ९६ प्रतिशत, ऊर्जामा ५ दशमलव ७६ प्रतिशत र लघु, घरेलु, साना एवम् मझौला उद्योगमा ११ दशमलव १५ प्रतिशत लगानी गरेका छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot