काठमाडौं, फागुन १२ । एमसिसी सम्झौता संघीय संसद्बाट अनुमोदन गर्ने तयारी अनुसार अहिले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।
एमसिसी सम्झौता अनुमोदन र छलफलको कार्यतालिका निर्धारण गर्न उक्त बैठक बस्न लागेको हो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले एमसिसीमा सैद्धान्तिक छलफलका लागि कति समय दिने भन्ने विषयमा दलीय सहमति खोज्नेछन्।
सैद्धान्तिक छलफल सकिएपछि संशोधनको समय नहुने हुँदा आजै अर्को बैठक बसेर दफाबार छलफल गराउन सरकारले प्रस्ताव गर्ने सम्भावना छ। दफाबार छलफलमा पनि निश्चित सांसदलाई मात्र बोल्न दिएर बिहीबार नै एमसिसी अनुमोदनका लागि प्रस्ताव गर्ने सम्भावना पनि छ।
एमसीसीको सैद्धान्तिक छलफल प्रारम्भअघि महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदन पेसको कार्यसूची रहेको छ । सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस गर्दैछन् । सैद्धान्तिक छलफलमा सम्झौताका सिद्धान्तमाथि बहस हुनेछ ।
सरकारको नेतृत्व गरेका कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबारसम्म एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराउने रणनीतिमा जुटेका छन्। अन्य राजनीतिक दल र सभामुख अग्निप्रसाद सापकोटा तयार भए कांग्रेस आजै एमसिसी सम्झौतालाई संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने पक्षमा रहेको जनाएको छ।
सरकार सदनबाट एमसिसी अनुमोदन भए पनि नभए पनि निर्णयार्थ पेस गर्ने तयारीमा छ। सभामुख सापकोटाको मनसाय भने पर्याप्त छलफल गरेर मात्रै एमसिसी अघि बढाउन पाए हुन्थ्यो भन्ने छ। एमसिसीमाथिको सैद्धान्तिक छलफलमा अनुमोदन गर्नुपर्ने वा नपर्ने कुरामा सीमित रही सांसदले धारणा राख्नुपर्ने हुन्छ।
दफाबार छलफलमा भने सांसदले आफ्नो असहमति रहेका दफामा केन्द्रित भएर छलफलमा भाग लिन सक्छन्। छलफल सकिएपछि सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन्। सम्भावित कार्यसूचीमा एमसिसीमाथि सैद्धान्तिक छलफल गर्ने विषयमात्र राखिएको भए पनि कार्यव्यवस्था परामर्श समितिको निर्णयपछि मात्र औपचारिक कार्यसूची बन्नेछ।