काठमाडौं, १२ फागुन । नेसनल हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज (बिहिबार) अन्तिम दिन रहेको छ ।
साधारण सभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । कम्पनीले गत वर्षको नाफाबाट १८.५२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
यसले फागुन ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत वर्षको नाफाबाट १८.५२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, उक्त बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ ।
यता, नेसनलले सुनकोशी हाइड्रोपावर कम्पनीलाई एक्वायर पनि गर्ने भएको छ । सुनकोशीलाई १ः०.२५ अनुपातमा एक्वायर गर्ने प्रस्ताव सभामा लैजाने भएको हो । जसअनुसार सुनकोशीको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि नेसनलको २५ कित्ता सेयर पाउने छन् ।
कम्पनीले साधारण सभा फागुन ३० गते बिहान ११ बजे सुरु हुनेछ । नेसनलले भर्चुअल माध्यमबाट साधारण सभा गर्ने जानकारी गराएको छ ।