काठमाडौं, १२ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा आज छलफल हुने भएपछि बानेश्वर वरपरको सुरक्षामा कडाई गरिएको छ । आज हुने सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै बानेश्वरमा २४ सय भन्दा बढी प्रहरी र १४ जना डिएसपी खटाइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
बानेश्वर वरपर प्रदर्शन सुरु भएका छन् । आज सत्ताघटक दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनमोर्चाका भातृसंगठनले आन्दोलन गर्ने भएका छन् । माओवादीले सडक, सदन र सत्ताबाट एमसीसीको विपक्षमा उभिदै आएको छ । माओवादीले राष्ट्रिय सहमतिमा मात्र एमसीसी पास गर्नपर्ने अडान लिदै आएको छ ।
संसदको बैठक आज दिउँसो १ बजे संसद भवनमा बस्ने भएको छ । आजको बैठकमा एमसीसी सम्झौतामािथ छलफल हुने छ । गत फागुन ८ गते एमसीसी सदनमा टेबल भएको थियो ।