Logo

आफ्नो पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने प्रचण्डद्धारा प्रधानमन्त्री देउवालाई जानकारी



काठमाडौं, १२ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आजको संसद् बैठक बहिष्कार नगर्ने भएको छ । आज (बिहीबार) अपरान्ह १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । सुरुमा माधव नेपाल, झलनाथ खनालसँग सिंहदरबारमा छलफल गरेका दाहाल सिंहदरबारको बैठकलगत्तै बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री देउवासँगको भेटवार्तामा दाहालले एमसीसीको विपक्षमा आफ्नो पार्टीले भोट हाल्ने जानकारी गराएका थिए । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसीबारे छलफल सुरु हुँदैछ । त्यो भन्दा अघि दलका नेताहरुको दौडधुप सुरु भएको छ ।

उता, माओवादीका नेता नारायणकाजी श्रेष्ठले आजको संसद् बैठक बहिष्कार नगर्ने, तर भोटिङ भएमा एमसीसीको विपक्षमा मतदान गर्ने बताईसकेका छन् । ‘हाम्रो पार्टीले आजको संसद् बैठक बहिष्कार गर्दैन, तर एमसीसी संसदमा निर्णयार्थ पेस भएमा विपक्षमा मतदान गर्नेछ,’ श्रेष्ठले भने, ‘एमसीसी संसदबाट पास हुने देखियो ।’

उनका अनुसार कांग्रेस, लोसपा, एकीकृत समाजवादी र जसपाको सहयोगमा एमसीसी संसद्बाट पास हुन्छ । आजै बिहान माओवादी अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसी अहिल्यै पास गर्न हतार नगर्न सुझाव दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्