काठमाडौं, १२ फागुन। सर्लाहीका पुस्तम राउतलाई एन्ड्रोइड इकोसिस्टमको सुरक्षामा योगदान पुर्याएकोमा गूगलले पुरस्कारस्वरुप ५,००० अमेरिकी डलर (लगभग ६ लाख नेपाली रुपैयाँ) प्रदान गरेको छ ।
गूगलले आफ्ना उत्पादनहरु, सेवाहरु तथा इन्टरनेटलाई सुरक्षित राख्न मद्दत गर्ने अनुसन्धानकर्ताहरूलाई पुरस्कार दिने गर्दछ । उनले एन्ड्रोइड इकोसिस्टममा उच्च गम्भीरताको सुरक्षा त्रुटि पत्ता लगाएर एन्ड्रोइड सुरक्षा टोलीलाई जिम्मेवारीपूर्वक रिपोर्ट गरेका थिए ।
उच्च गम्भीरताको रूपमा मूल्याङ्कन गरिएको सुरक्षा त्रुटिलाई अतिरिक्त कार्यान्वयन विशेषाधिकार र प्रयोगकर्ता अन्तरक्रियाहरु बिना जानकारी खुलासा गर्नको लागि शोषण गर्न सकिन्थ्यो । कोडमा भएका त्रुटिहरुले एन्ड्रोइड प्रयोगकर्ता डेटाको अखण्डतामा सम्झौता गर्न सक्थे ।
रिपोर्ट गरेको केही महिनापछि, गूगलले राउतलाई त्यो रकम प्रदान गर्नुको साथै उनको यो योगदानको लागि गूगल/एन्ड्रोइड हॉल ऑफ फेममा उनको नाम सूचीबद्ध गरेको छ । गूगलको वेवसाइट अनुसार एन्ड्रोइड हॉल ऑफ फेममा सूचीकृत हुने उनी पहिलो र एक मात्र नेपाली हुन् । साथै उनी गूगल सुरक्षा टोलीबाट पुरस्कृत हुने ६ नेपालीहरु मध्ये एक हुन् ।
यसअघि उनी मेटा प्लेटफर्म (फेसबुक) बाट पनि सुरक्षा त्रुटिहरु फेला पारेकोमा हजारौं अमेरिकी डलरले पुरस्कृत भइसकेका छन् । यान्त्रिक विज्ञानको क्षेत्रमा कार्यरत इन्जिनियर एवं अनुसन्धानकर्ता राउतले स्थानीय सरकारी विद्यालयबाट नेपाली माध्यममा पढेर स्नातकोत्तर तहसम्म पूर्ण छात्रवृत्तिमा शिक्षा हासिल गरेका हुन् । यसका अतिरिक्त उनी विभिन्न गणित, विज्ञान, क्विज र निबन्ध प्रतियोगिताहरु जित्दै आएका छन् ।