Logo

कांग्रेस एमालेसँग प्याकेजमै सहमति गर्न तयार



काठमाडौं, फागुन १३ । अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्न सत्ता गठबन्धनबाटै असहयोग भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल एमालेको साथ खोज्दै हिडेका छन् ।

सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेसँगै एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले एमालेको साथ खोजेका हुन् ।

संसद्मा पेस भएको एमसीसी सम्झौता पारित गराउनुपर्ने दबाबमा रहेका उनले एमालेको साथ लिएर अगाडि बढ्ने गरी छलफल थालेका छन् । प्रधानमन्त्री देउवाले एमालेसँग पटक–पटक वार्ता गर्दै आएका छन्।

एमसीसी परियोजनाले यही फागुन १६ गतेभित्र एमसीसी अनुमोदन गर्न दबाब दिँदै आएको छ । उक्त दबाबसँगै प्रधानमन्त्री देउवा सत्ता गठबन्धन टुटाएर भए पनि एमालेको साथ लिएर एमसीसी अनुमोदन गराउने आन्तरिक गृहकार्यमा जुटेका छन् ।

बिहीबार प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग प्रधानमन्त्री देउवाले गर्नुभएको छलफलमा आ–आफ्नै अडान कायमै राखेपछि कांग्रेस एमालेसँग प्याकेजमै सहमति गर्न तयार देखिएको छ । संसद् भवन नयाँ बानेश्वरमा एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा स्वयम् गएका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले प्रचण्ड र नेपालबाट एमसीसी पारित गर्न असहयोग भएकाले एमालेसँग सहकार्य गरी अघि बढ्न आफ्नो पार्टी तयार रहेको प्रस्ताव राखे । जवाफमा एमालेका नेताहरुले एमसीसीको विषयमा संसद्मा संवाद हुने वातावरण सिर्जना गर्न सभामुख अग्नि सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव लगाउनुपर्ने सर्त अगाडि सारेको थियो ।

उक्त प्रस्तावको बारेमा प्रधानमन्त्री देउवाले आफू सबै विकल्पमा सहमति गर्न तयार रहेको प्रतिबद्धता जनाएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot