Logo

प्रचण्डसँग देउवाको मोहभंग



काठमाडौं, १३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मोहभंग भएको छ ।

देउवाले प्रचण्डसँगको गठबन्धन चल्न नसक्ने निष्कर्ष निकालेका छन् । सत्ता गठबन्धनमा सँगै रहेर एमसीसीमा ५ महिना पछि निर्णय लिने संयुक्त हस्ताक्षर गरेर पनि प्रचण्डले धोका दिएको निष्कर्षमा देउवा पुगेको बुझिएको छ ।

यसअघि देउवाले सार्वजनिक रुपमै प्रचण्डको गुनगान गाएका थिए । प्रचण्डका कारण संविधानसभा भई देशमा परिवर्तन आएको बताएका थिए । माओवादीको महाधिवेशन उदघाटनमा बोल्दै देउवाले अहिलेको राजनीतिक प्रणालीको मुख्य नायकका रुपमा प्रचण्डको व्याख्या गरेका थिए । उनले विगत देखि नै प्रचण्डको कतिपय प्रस्तावहरु मान्दै आएका थिए ।

रोचक पक्ष यो छ कि विगत २६ वर्षयता देउवा प्रधानमन्त्री हुँदा प्रचण्डले सबैभन्दा बढी फाइदा लिन सके । देउवासँगै प्रचण्डको बढी सहकार्य बन्यो । देउवाको प्रचण्डसँगको बढी भरोसाप्रति काँग्रेसकै कतिपय नेताहरु असन्तुष्ट भए । डा. मीनेन्द्र रिजालले सार्वजनिक रुपमै भने– ‘लाल काँग्रेस’ ।

देउवा जब जब प्रधानमन्त्री भए तब प्रचण्डले शक्ति सञ्चय गरेका गिथए । २०५२ सालमा माओवादी जनयुद्ध सुरु भयो । त्यतिबेला देउवा प्रधानमन्त्री थिए । उनले यसलाई हल्का रुपमा लिदा प्रचण्डको शक्ति ह्वात्तै बढ्यो ।

२०५८ सालमा देउवा प्रधानमन्त्री हुँदा माओवादी जनयुद्ध उचाईमा पुगेको थियो । माओवादी शक्ति सञ्चयका लागि रणनीतिक वार्तामा आयो । तर, त्यो मात्र नाटक थियो भन्ने घटनाक्रमले पुष्टि भयो । माओवादी वार्ता भंग गरी सेनाको ब्यारेकमा आक्रमण गर्न पुगे । शक्ति शञ्चय गरिसकेका थिए । प्रभावशाली नेताहरुलाई जेलबाट छुटाइसकेका थिए । उनीहरुले सेनामाथि आक्रमण गरेर थप हतियार सञ्चय गरे ।

२०५९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले देउवालाई प्रधानमन्त्रीबाट बर्खास्त गरे । उनले सत्ता हातमा लिए । पछि पुनः सत्तामा फर्काए । माओवादीले पनि शक्ति बढाउने मौका पाइरह्यो ।

२०६१ मा देउवा प्रधानमन्त्री हुँदा माओवादी झन् बलियो भयो । माओवादी जनयुद्ध उत्कर्षमा पुग्यो ।

२०७४ सालमा देउवा प्रधानमन्त्री बन्न सफल भए । उनलाई प्रधानमन्त्री बनाउन प्रचण्डले भूमिका खेले । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा प्रचण्डको गुम्न लागेको शक्ति फर्काउने उत्कृष्ट अस्त्र बनिदिए । स्थानीय निकायको निर्वाचनमा प्रचण्डकी छोरी रेनु दाहाललाई भरतपुर महानगरपालिकामा जिताउन देउवाले ठूलै कसरत गरे । आफै प्रचारमा जाने देखि काँग्रेसका आधिकारिक उम्मेदवारलाई पछि हटाए ।

देउवा प्रधानमन्त्रीका रुपमा रहेर आमनिर्वाचन गराए । तर, उनी प्रधानमन्त्री हुँदा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हातेमालो गरे । देउवाले धोका पाएको महशुश गरे । केही समय संवाद न गरेनन् तर उनको प्रचण्डसँग मोहभंग भएको थिएन ।

ओलीसँगको टकरावले प्रचण्ड अप्ठ्यारोमा परे । देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेर मनाए । प्रधानमन्त्री बन्ने मौका देखेर देउवा अगाडि बढे । प्रचण्डका कतिपय राजनीतिक स्वार्थ पूरा गर्दै गए ।

एमसीसी अगाडि बढाउने क्रममा देउवाले आफ्ना पार्टीका सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराउने सम्मको भूमिका खेले । माओवादीले १ फागुनमा जनयुद्ध दिवस मनाइरहँदा विहानै महाभियोग दर्ता भएको थियो । यसलाई प्रचण्डले आफ्नो महत्वपूर्ण राजनीतिक जीतका रुपमा प्रस्तुत गर्न खोजे ।

प्रचण्डले देउवालाई रणनीतिक चार्तुयताका साथ अप्ठ्यारोमा पार्दै लगे । देउवा स्वयंले निकटस्थसँग आफूलाई प्रचण्डले एम्बुसमा पार्न खोजेको बताए । एमसीसी असफल बनाउने प्रचण्डको रणनीति बुझेपछि बल्ल देउवाको मोहभंग भएको छ । उनले अब प्रचण्डसँगको गठबन्धन नचल्ने निष्कर्षका साथ केपी शर्मा ओलीसँग हात बढाएका छन् ।

देउवाकालमा प्रचण्डले लिएका फाइदा
२०५२ मा देउवा प्रधानमन्त्री हुँदा माओवादी जनयुद्ध सुरु
२०५८ मा देउवा प्रधानमन्त्री हुँदा माओवादी जनयुद्ध उचाईमा । माओवादी शक्ति सञ्चय गर्न रणनीतिक रुपमा शान्ति वार्तामा आएको । शक्ति सञ्चय गगरेपछि वार्ता भंग गरी सैनिक ब्यारेकमा आक्रमण । माओवादी थप हतियारले सुसज्जित
२०५९ मा देउवालाई प्रधानमन्त्रीबाट हटाई तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट सत्ता कब्जा । माओवादी झन् शक्तिशाली । दलहरु सडकमा
२०६१ मा देउवा प्रधानमन्त्री हुँदा माओवादी झन् बलियो बनेको । पछि ज्ञानेन्द्र शाहले पुनः हटाई प्रत्यक्ष शासन गरेको । माओवादीलाई फेरि मलजल । माओवादी जनयुद्ध उत्कर्षमा
२०७४ को स्थानीय चुनावमा भरतपुरमा रेनु दाहाललाई जिताउन देउवाको भूमिका । माओवादीलाई धेरै स्थानीय निकायमा जित्ने मौका मिलेको
२०७४ को आमनिर्वाचन अघि देउवा प्रधानमन्त्री हुँदा ओली र प्रचण्डको मिलन । कम्युनिस्ट पार्टीलाई इतिहासमै पहिलोपटक भारी बहुमत । प्रचण्डको गुम्दै गरेको शक्ति फर्किएको
२०७८ मा प्रचण्डकै रणनीतिमा देउवा प्रधानमन्त्री नियुक्त । प्रचण्ड झन् झन् शक्तिशाली । पछिल्लो समय प्रचण्डसँग देउवाको मोहभंग



प्रतिक्रिया दिनुहोस्