Logo

देउवा र प्रचण्ड दुवैले गठबन्धन तोड्न नचाहेपछि कांग्रेस-एमाले सहमति सम्भावना न्यून



काठमाडौं, १३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन तोड्न नचाहेपछि एमालेसँगको कांग्रेसको सहमति सम्भावना न्यून रहेको छ ।

हिजोमात्रै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एक्लाएक्लै र सामूहिक गरि दुई पटक वार्ता गरे । उक्त भेटमा कांग्रेसको तर्फबाट महामन्त्री गगनकुमार थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ सहभागी थिए ।

एमसीसीलाई लिएर कांग्रेस र एमालेबीच सहकार्यको लागि वार्ता तथा छलफल भैरहेको छ । तर, प्रधानमन्त्री देउवाले एमसीसी पास गराउनको लागि मात्रै एमालेले भूमिका खेलिदिओस भन्ने प्रस्ताव राखेका छन् ।

उनले एमसीसी ओली सरकारको नेतृत्वमा हुँदा संसद् सचिवालयमा दर्ता गराएको र आफूले अविछिन्न सरकारको उत्तराधिकारी भएकोले सोही प्रस्ताव संसद्मा टेबुल गराएको भन्दै एमालेको साथ खोजेका छन् । तर, एमालेले भने आफूहरुको साथ एमसीसीमा आवश्यक परेको हो भने अहिलेको गठबन्धन तोडेर आउन प्रस्ताव राखेको छ ।

एमालेले आफूहरुको माग पूरा नभए संसदीय प्रक्रियामा सहभागी हुनसमेत नसक्ने अडान लिएको छ । बाहिर सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनेसम्मको तयारी भएको कुरा आएपनि भित्री रुपमा प्रधानमन्त्री देउवाले माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धन तोड्न चाहेका छैनन् ।

एमाले नेताहरु बालुवाटारको बैठक सकिएलगत्तै अध्यक्ष ओलीको निवास बालकोट पुगेर छलफल गरेका थिए । आज बस्ने प्रतिनिधिसभा भन्दा अगावै कांग्रेस र एमालेका नेताहरु पूनः छलफल जुट्ने र एउटा सहमतिमा पुग्ने बताईएको छ ।

सहमति भयो भने सभामुख सापकोटालाई हटाउनेगरि हुने एक नेताले जनाए । उनकाअनुसार एक महिनापछि एमाले पनि सरकारमा सहभागी हुनेछ । तर, त्यो भन्दा अघि प्रदेश सरकारमा भने एमाले सहभागी हुने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot