Logo

माधव नेपालसहित यी १४ को सांसद पद धरापमा



काठमाडौं, १३ माघ । एमसीसी सदनबाट अनुमोदन हुने या नहुने नेकपा एमालेको निर्णयमा भर पर्छ । तर, एमालेको केही सर्त छन् । जसमध्ये माधवकुमार नेपालसहित १४ सांसदको पद खारेजी पनि एक हो ।

नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष हुन् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल । एमाले फुट्नु अघि केपी शर्मा ओलीले पार्टी बैठक डाकेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेर सनाखत समेत गर्न जाने १४ सांसदको पद खारेजीको निर्णय गर्दै प्रतिनिधि सभामा निवेदन दर्ता गरेका थिए । तर, सभामुख अग्निप्रसाद सापकोटा सदनमा अनुपस्थित भइदिए । उनले सांसद पद खारेजीको सूचना टाँस गर्न मानेनन् ।

विगतमा माओवादी केन्द्रले टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरीलाई दल त्याग गरेपछि सांसदबाट पदमुक्त गर्ने निर्णय गरी निवेदन दिंदा सभामुखले सूचना टाँस गरेका थिए । तर, पार्टी नीतिविपरित गएर हटाएकोमा सूचना टाँस नगरेकोमा एमालेले सभामुखप्रति आक्रोश पोखिरहेको छ ।

एमाले अध्यक्ष ओलीले माधव नेपालसहित १४ सांसदलाई हटाउने विषयलाई प्रतिष्ठाको विषय बनाएका छन् । यो मुद्दाको सम्बोधन गर्न तयार हुने वातावरण जस्ले विकास गर्छ उसैसँग मिलेर जाने भनेका छन् । यसको अर्थ अब प्रधानमन्त्री शेरबहादुर देउवासँग ओलीको समझदारी भएमा माधव नेपालसहित १४ सांसदको पद धरापमा पर्न सक्छ ।

सभामुख हटाउने, जेष्ठ सदस्यलाई प्रतिनिधिसभाको अध्यक्षता गर्न लगाउने देखि १४ सांसदको विषयमा पनि निर्णय हुन सक्छ । त्यतिबेला माधव नेपालको सांसद पद नै धरापमा पर्न सक्छ । उनलाई साथ दिने सांसदहरुको पनि पद जान सक्छ ।

ओलीले सांसद पदबाट मुक्त गर्न चाहेका १४ सांसद
१. माधवकुमार नेपाल
२. जीवनराम श्रेष्ठ
३. मुकुन्द न्यौपाने
४. विरोध खतिवडा
५. कृष्णलाल महर्जन
६. भवानी खापुङ
७. मेटमणी चौधरी
८. रामकुमारी झाँक्री
९. कल्याणी खड्का
१०. लक्ष्मीकुमारी चौधरी
११. निरादेवी जैरु
१२. पुष्पाकुमारी कर्ण कायस्थ
१३. सरलाकुमारी यादव
१४. कलिला खातुन



प्रतिक्रिया दिनुहोस्