Logo

‘चीनको अग्निपरीक्षा’ मा प्रचण्ड, ओली र माधव नेपाल



काठमाडौं, १३ माघ । यतिबेला चीन नेपाल मामलामा खुलेरै आएको छ । चीनले कम्युनिस्ट शक्ति एक बनाउन भूमिका खेलेको खुल्दै गएको छ । तर, ती शक्ति फुट्न खोज्दा रोक्ने प्रयासमा भने सफलता हासिल गर्न सकेन ।

नेकपा हुँदा चिनियाँ कम्युनिस्ट पार्टीले संयुक्त प्रशिक्षण नै चलायो । यो नेपालको इतिहासमा कहिल्यै नभएको घटना थियो । चीन निर्माण क्षेत्रमा आक्रामक तरिकाले नेपालमा आयो । ठूला आयोजनाहरुमा चिनियाँ कम्पनीले ठेक्का पाए । सेनाले निर्माण गरिरहेको काठमाडौं तराई द्रुत मार्गको ठेक्का, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, रिङरोडको स्तोरोन्नतिलगायतमा उदाहरण हुन् ।

चीन राजनीतिक र आर्थिक क्षेत्रमा मात्र नभई शैक्षिक क्षेत्रमा पनि सक्रिय भयो । चिनियाँ भाषा अध्यापन गराउने चिनियाँ नागरिकहरु विद्यालयहरुमा पुग्न थाले । यी सबै घटनाहरु कम्युनिस्ट प्रधानमन्त्री हुँदा भयो ।

चीनले नेपालका कम्युनिस्ट शक्तिलाई मित्र शक्ति मान्यो । त्यसमा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सबैभन्दा नजिकका देखिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चीनसँग महत्वपूर्ण सम्झौताहरु भए । चिनियाँ भूमिका नेपालमा बढ्न पुग्यो । पछिल्लो समय नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको पनि चीनसँग सम्बन्ध सुदृढ भएको छ ।

कम्युनिस्ट शक्ति एक हुँदा चीनका लागि नेपाल प्रभाव बढाउने सहज बाटो बन्यो । यसकारण उसले अझै पनि कम्युनिस्ट शक्तिमा भरोसा राखेको छ । नेपाली काँग्रेस नेतृत्वको सरकार बनेलगत्तै चीनसँगको सीमा समस्याको अध्ययनहरु हुनथाल्यो । प्रमाणहरु पनि जुट्यो । रिपोर्ट सार्वजनिक नभई चीन सीमा समस्या नभएको बोल्न पुग्यो । चीनभन्दा अघि ओली बोले । उनले चीनसँग कुनै सीमा समस्या नभएको जिकिर गरिरहे ।

अहिले चीनले नेपालमा अमेरिका र भारतको चुनौतीको सामना गर्न थालेको छ । विशेषगरी एमसीसीप्रति चीन सन्तुष्ट छैन । यसविरुद्ध खुलेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताहरुले अमेरिकालाई चेतावनी दिने गरी एमसीसीविरुद्ध खुलेरै बोलिसकेका छन् ।

११ फागुनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले चीनले चेतावनीका रुपमा एमसीसीलाई लाद्न खोजेको आरोप लगाइन् । उनले भनिन्, ‘मलाई आश्चर्य लागेको छ जब उपहार आउँछ त्यो एउटा चेतावनीको प्याकेटका रुपमा कसरी आउन सक्छ ?’ उनले एमसीसीतर्फ संकेत गर्दै नेपाली जनताले कसरी स्वकार्न सक्छन् भनी प्रश्न गरिन् । यसलाई चपाउन नसकिने मासुको संज्ञा दिइन् ।

यसअघि ६ फागुनमा चिनियाँ विदेश मन्त्रालयका अर्का प्रवक्ता वाङ वेनबिनले एमसीसीतर्फ संकेत गर्दै राजनीतिक स्वार्थ जोडिएको सहयोग भन्दै प्रश्न गरेका थिए । उनले भनेका थिए, ‘नेपालको सम्प्रभूता र हितमा असर पुर्याउने गरी धम्कीपूर्ण कूटनीतिका माध्यमबाट आफ्नो स्वार्थ बढाउने विषयको हामी विरोध गर्छौं ।’

एमसीसी निर्णायक अवस्थामा पुग्दै गर्दा चीनको सक्रियता बढेको छ । विभिन्न माध्यमले सम्पर्क र कुराकानी गर्न थालेका छन् । चिनियाँ अधिकारीहरुले ओली, प्रचण्ड र माधव नेपालसँग एमसीसीबारे कुराकानी गर्न थालेका हुन् ।

ओलीसँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले १२ फागुनमा भिडियो संवाद गरी एमसीसीबारे चासो राखिसकेका छन् । ओलीले एमसीसी पारित गर्ने पक्षमा जाने संकेतहरु देखाउन थालेपछि चीनले दबाबका लागि उच्च तहको नेतामार्फत् संवाद गरेको छ ।

१२ फागुनमै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि चीनले एमसीसीबारे कुारकानी गरेको छ । उनीसँग विदेश विभाग उपप्रमुख चेन झाओले भिडियो संवाद गरेका हुन् ।

प्रचण्डसँग पनि चिनियाँ पक्ष नियमित जसो संवादमा छ । यसरी चीनले प्रमुख कम्युनिस्ट पार्टीका नेताहरुमार्फत् दबाब बढाइरहेको छ । तर, एमसीसीबारे नेताहरुको धारणा समान छैन ।

प्रचण्ड एमसीसीको विपक्षमा छन् । माधव नेपाल केही लचिलो भएपनि पक्षमा मतदान गर्न तयार छैनन् । ओली निर्णय नलिई बसेका छन् । अब ओलीको भूमिकाले एमसीसीले कस्तो निकास पाउने हो निक्र्यौल गर्छ ।

एमसीसीबारे ओली र प्रचण्डको फरक मत रहेमा कम्युनिस्ट शक्तिमाथि ठूलो दुर्घटना हुनसक्छ । यसलाई चीनले निकै चासोका साथ लिएको देखिन्छ । यसकारण चीनले दुवै शक्ति मिलाउने प्रयास गरिरहेको छ ।

शेषगरी, अमेरिकी प्रभाव नेपालमा पर्न नदिन उसले ओली र प्रचण्डमाथि दबाब बढाइरहेको छ । चीनका लागि कम्युनिस्ट नेताहरुको अग्निपरीक्षा भइरहेको देखिदैछ । उनीहरु चीनको रणनीतिक स्वार्थको सम्बोधनमा सहयोगी हुने हुन् या होइनन् ? चासोको विषय बेइजिङमा बनिरहेको पछिल्ला घटनाक्रम, संवाद र चिनियाँ अधिकारीहरुको अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्