काठमाडौं, १३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी ल्याउन निवेदन हाल्ने देखि विभिन्न भूमिका खेल्ने नेताहरुलाई यसका विरोधीहरुले ढुंगा नहानी ताली बजाएको र आफूलाई ढुंगा हानेको टिप्पणी गरेका छन् । आज पोखरामा बोल्दै उनले एमसीसीविरोधीले यसलाई ल्याउन भूमिका निभाएकाहरुले नै ताली बजाएको देख्दा आश्चर्य लागिरहेको बताए ।
‘तमासा पनि हदको हुन्छ नि, सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भत्काउन लगाउँछन् । ढुंगा हान्न लगाउँछन् । एमसीसी नेपालमा ल्याउन पाउ भनेर आफू प्रधानमन्त्री हुँदा चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटामा हिंड्दा ढुंगा हान्दैनन् ताली बजाउँछन्,’ ओलीले भने । उनले एमसीसीमा भूमिका खेल्ने नेताहरुले एमसीसीविरोधीबाटै ताली पाइरहेको उल्लेख गरे ।
ओलीले भने,‘त्यही बाबुराम भट्टराई एमसीसी अगाडि बढाउनुपर्छ भन्ने मान्छे हिंडदा ढुंगा हानिदैन । नेपाली काँग्रेस एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिदैन । टेबल गरेका छन् सभामुखले ढुंगा हानिदैन । एमसीसी ठिक छ भनेर वार्ता गरेर कुरा टुंग्याउने कृष्णबहादुर महरालाई ढुंगा हानिदैन । प्रचण्डको पालामा अगाडि बढ्यो । प्रचण्ड र शेरबहादुर देउवाको संयुक्त सरकारका बेला महराले टुंग्याउनुभयो । ज्ञानेन्द्र कार्की वासिङ्टन गएर सम्झौता गर्नुभयो । उहाँहरुको सरकारले गर्यो । ती सम्झौता गर्नेहरुलाई कसैले रोक्दैन । म बाटामा हिंडुछु ढुंगा हान्छन् ।’
एमसीसी नेपाल ल्याउन भूमिका खेल्ने नेताहरुले विरोधमा उत्रिएको विषयप्रति लक्षित गदैै ओलीले यस्तो टिप्पणी गर्नुलाई अर्थपूर्ण मानिएको छ ।-File Photo