Logo

स्थानीय निर्वाचनमा अर्थपूर्ण महिला सहभागिता



डडेल्धुरा, १३ फागुन: संवैधानिक प्रावधानअनुसार स्थानीय तहमा महिला जनप्रतिनिधिको सङ्ख्यात्मक परिमाण उच्च भएपनि सार्थक र नेतृत्वदायी भूमिकामा पहुँच कमजोर रहेको बताइएको छ ।

सार्थक र नेतृत्वदायी भूमिका नहुँदा लंैगिक सन्तुलन नमिलेको र महिला सशक्तीकरण अपुरो भएकाले आगामी स्थानीय तहकोे निर्वाचनमा सक्षम र सबल जनप्रतिनिधि चयनका लागि महिलाको अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले नेपाल महिला सङ्घ अमरगढी नगर कार्यसमितिले आज जिल्ला सदरमुकाममा नेपाली कांग्रेसका पदाधिकारी र नेतासँग अन्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनका लागि महिला सङ्घ डडेल्धुरा पूर्णरुपमा तयारी अवस्थामा रहेको जनाउँदै सात स्थानीय तह र ५२ वटै वडामा महिलाको अर्थपूर्ण प्र्रतिनिधित्व हुने गरी पार्टीले टिकट दिनुपर्ने महिला सङ्घले जनाएको छ ।

सङ्घीयतापछिको पहिलो स्थानीय तहको निर्वाचनमा महिलाले टिकट पाएका सबै स्थानमा विजय हासिल गरेको जनाउँदै आगामी निर्वाचनमा मूल पदमा महिलालाई अगाडि बढाउनुपर्ने महिला सङ्घ डडेल्धुराको माग छ ।

सात वटा स्थानीय तह रहेको डडेल्धुरामा गत निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदमा एक महिलालाई मात्र टिकट दिइएको थियो । जिल्लामा दुई स्थानीय तहबाहेक सबै ठाउँमा नेपाली कांग्रेसबाट टिकट पाएका महिलाले विजय प्राप्त गरेको थिए । वडामा भने कुनै पनि महिलालाई अध्यक्ष पदमा टिकट दिइएको थिएन । आगामी निर्वाचनमा पनि सवल र सक्षम महिलालाई उम्मेदवार बनाउनुपर्ने जिकिर सङ्घको छ ।

सो अवसरमा नेपाली कांग्रेस माहाअधिवेशन प्रतिनिधि तथा सुदूरपश्चिम प्रदेश सांसद गोविन्दराज बोहराले महिलाको क्षमताका आधारमा सम्मानजनक तरिकाबाट स्थानीय तहका लागि जिम्मेवारी दने जनाएका छन् । ग्र्रामीण क्षेत्रमा बस्ने महिला अझै विकास निर्माण र अन्य हिंसात्मक कुराबाट मुक्त हुन नसकेको कुरा स्मरण गर्दैै आगामी निर्वाचनमा सो कुरा निराकरण गर्नसक्ने सवल महिलालाई जनप्रतिनिधि बनाउन पार्टीले जिम्मेवारी दिने बताए ।

सङ्घका सभापति लक्ष्मी खर्कवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरुले हरेक तहमा कांग्रेसका उम्मेदवारलाई जिताउन महिला सङ्घमा आबद्ध महिलाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot