Logo

सभामुख सापकोटा र माधव नेपालको पद जोगाउन प्रचण्डले कस्तो कदम चाल्लान् ?



काठमाडौं, १३ फागुन । नेपाली काँग्रेसभित्र धेरै नेताहरु अहिलेको सत्ता गठबन्धनको औचित्य समाप्त भइसकेको निष्कर्षमा पुगिसकेका छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवा हतारिएका छैनन् । उनी अझै संयमता अपनाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत सामजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसी सदनबाट अनुमोदनको पक्षमा मनाउन लागिपरेका छन् ।

देउवा एमसीसीमा पछि नहट्ने अडानमा छन् । अब यसलाई अनुमोदन गर्न उनीसँग या त गठबन्धनका प्रचण्ड र माधव नेपाललाई सहमतिमा ल्याउनुपर्ने अवस्था छ या त एमाले अध्यक्ष केपी शर्मा ओलीको शर्त मानेर नयाँ गठबन्धन बनाउनुपर्ने वाध्यता छ । प्रचण्ड र माधव नेपाल यथास्थितिमा एमसीसी पारित नगर्ने पक्षमा छन् ।

एमसीसीबारे माधव नेपाल लचिलो बन्दै गएको संकेत देखिन्छ । उनले आज देउवालाई भेटेर मध्यमार्गी बाटो अपनाउनेबारे छलफल गरेका छन् । साँझ देउवालाई भेट्न प्रचण्ड पुगे । उनको साथमा अर्थमन्त्री जर्नादन शर्मा पनि हुनुलाई अर्थपूर्ण मानिएको छ ।

प्रचण्डले तत्काल देउवालाई गठबन्धन भत्काउने कदमबाट रोकेका छन् । तर, १६ फागुनभित्र कुनै निर्णयमा नपुगे गठबन्धन जोगिने छैन ।

त्यतिबेला देउवाले एमालेको शर्तमध्ये सभामुख अग्निप्रसाद सापकोटा हटाउने प्रस्ताव दर्तामा एमालेलाई साथ दिन सक्छन् । अर्कोतर्फ, माधव नेपालसहित १४ नेकपा एसका सांसद हटाउने सूचना सदनबाट टाँस्ने ओलीको सर्त पनि पूरा हुनसक्छ । यो प्रचण्डका लागि ठूलो धक्का हुन सक्छ ।

अब प्रचण्डले या त देउवालाई एमसीसीमा साथ दिनुपर्ने हुन्छ या त ओलीलाई एमसीसी असफल पार्न मनाउनुपर्ने हुन्छ । एमसीसीमा मतदान नगर्ने पक्षमा प्रचण्ड पुगेका छन् । तर, गठबन्धन जोगाउनका लागि उनले रणनीतिक रुपमा एमसीसी अनुमोदन गराउने कदम चाल्न सक्छन् । त्यो सम्भावना भने न्यून छ ।

प्रचण्डले ओलीलाई साथ लिन खोजिरहेका छन् । उनले १२ फागुनमा ओलीलाई बानेश्वरस्थित संसद भवनमा भेटिसकेका छन् । ओलीले त्यहाँ पनि सभामुख सापकोटाको बर्हिगमन या माधव नेपालसहित १४ सांसद हटाउने सूचना टाँस्ने सर्त राखे । जसरी पनि प्रचण्डले सभामुख सापकोटाको बर्हिगमन या माधव नेपालसहित १४ सांसदको पद जोगाउन नसक्ने अवस्था विकास भएको छ ।

देउवा ओलीसँग मिलेमा ठूलै धक्का खानेछन् प्रचण्ड र माधव नेपालले । ओलीसँग मिल्दा पनि उनको कठोर सर्त छ । एमसीसीमा देउवाको चाहना अनुसारको निकास दिएमात्र प्रचण्डले सापकोटा र माधव नेपालको पद जोगाउन सक्ने अवस्था देखिएको छ । अन्यथा, ओलीको कठोर सर्त मानेर माधव नेपालविरुद्धको कदम चाल्नुपर्ने हुनसक्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot