गुल्मी, फागुन १४ । गुल्मीदरबार गाउँपालिका–४ वीरवासकी अनिता पेमीले ६ वर्षअघि सूर्योदय लघुवित्त cबाट भैंसीपालनका लागि भन्दै ३ लाख रुपैयाँ ऋण लिइन् । ऋण लिएबापत उनले नियमित किस्ता पनि तिरिरहेकी थिइन् ।
तर, कोरोना कहरका कारण लकडाउन भएपछि उनी आर्थिक समस्यामा परिन् । फलतः उनले नियमित किस्ता बुझाउन सकिनन् । पछिल्लो पाँच महिनामा उनले २७ हजार रुपैयाँ बुझाएकी थिइन् । तर, आफ्नो हिसाब–किताब भने थाहा पाइनन् ।
पेमीले उन्नत्ति लघुवित्तबाट पनि डेढ वर्षअघि ३ लाख रुपैयाँ ऋण लिएकी थिइन् । १८ महिनामा साँवा र ब्याजसहित तिरेर सक्नुपर्ने भए पनि विगत पाँच महिनादेखि उनले किस्ता बुझाएकी छैनन् । भैंसीपालनका लागि लिएको ऋणको किस्ता तिर्न छोडेपछि अहिले कुनै हिसाब उनीसँग छैन ।
त्यस्तै, उनले चार वर्ष वर्षअघि तीन वर्षको समय राखेर स्पर्श लघुवित्तबाट डेढ लाख रुपैयाँ ऋण लिएकी थिइन् । ऋण लिएबापत उनले किस्तास्वरूप मासिक ५ हजार ५ सय बुझाउँथिन् । तर, लकडाउन भएदेखि उनले त्यसको पनि किस्ता बुझाउन सकेकी छैनन् । स्पर्शमा अझै १ लाख ३० हजार रुपैयाँ बुझाउन बाँकी रहेको पेमी बताउँछिन् ।
पेमीले झन्डै एक दर्जन संस्थाबाट ऋण लिएकी छन् । उनले देउराली लघुवित्तबाट ८० हजार, नेपाल एग्रोबाट १ लाख, जनसेवीबाट डेढ लाख, बलेटक्सारको नाडेकबाट ८० हजार र ग्लोबल लघुवित्तबाट ८० हजार रुपैयाँ ऋण लिएकी छन् । जसमध्ये नेपाल एग्रोमा ५५ हजार बुझाउन बाँकी छ भने नाडेकमा २८ हजार रुपैयाँ मात्रै बुझाएकी छन् । अन्यमा ऋण तिर्न नै बाँकी छ ।
यसरी हेर्दा पनि उनले विभिन्न आठ लघुवित्त संस्थाबाट १२ लाख ४० हजार रुपैयाँ ऋण लिएकी छन् । हिसाबकिताब नमिलेपछि ११ वर्षअघि आबद्ध भएको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाबाट भने उनी अलग भएकी छन् । सबै संस्थाबाट भैंसी एवं बाख्रा पालनका लागि ऋण लिएकी उनीसँग हाल घरमा एउटा पनि भैंसी छैन । चारवटा बाख्रा भने छन् ।
पेमी मात्र होइन, अहिले जिल्लाका गाउँका धेरै महिला लघुवित्तको जालमा फसेका छन् । लघुवित्तले हचुवाका भरमा ऋण दिने तर महिलाहरूलाई उद्यमी नबनाउँदा समस्या बल्झिँदो छ । एउटा संस्थाको किस्ता बुझाउन अर्को संस्थाबाट ऋण लिँदा र लघुवित्तले बिनाअध्ययन ऋण वितरण गर्दा समस्या थपिएको छ ।
अहिले एक जना महिलाको १ लाखदेखि १५ लाख रुपैयाँसम्म ऋण छ । ऋण तिर्न नसक्दा संस्थाका कर्मचारीले गाउँमा आतंक मच्चाउन थालेका छन् । राजधानी दैनिकबाट