Logo

शक्ति राष्ट्रको चेपुवाले भुङ्रोमा युक्रेन



काठमाडौं, फागुन १३ । शक्तिशाली मुलुकहरूको बीचमा रहेर उनीहरूको स्वार्थलाई सम्बोधन नगर्दा एउटा स्वतन्त्र मुलुक कसरी युद्धको भुङ्रोमा पर्छ, यसको पछिल्लो उदाहरण बनेको छ युक्रेन।

सोभियत संघ विघटन हुनुभन्दा पहिले आफैं पनि उक्त संघको अंग रहिसकेको युक्रेनले अर्कोतर्फ जोडिएको युरोपेली संघसँग सम्बन्ध बढाउन खोज्दा छिमेकी रुसको आक्रमणमा परेको छ। युक्रेनले कित्ता परिवर्तन गरेर नेटोसँग निकटता जनाउनुको परिणाम युद्धको भुङ्रोमा हेलिनुपरेको छ।

नर्थ एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्य बन्ने युक्रेनको चाहना र त्यसलाई रोक्ने रुसको चाहनाबीच तालमेल नहुँदा उनीहरूबीच लामो समयदेखि तनाव थियो। पश्चिमी मुलुकहरू नेटोको माध्यमबाट आफ्नो क्षेत्रमा प्रवेश गर्न सक्छन् भन्ने रुसको चिन्ता छ।

युरोपेली युनियन र अमेरिकाले युक्रेनलाई नेटोको सदस्य बन्न प्रेरित गर्दै आएका थिए। नेटोको सदस्य बन्ने कुरा युक्रेनले आफ्नो संविधानमा समेत उल्लेख गरेको छ। अमेरिका र उसका सहयोगी देशहरूले युक्रेनलाई नेटोमा सहभागी हुन रोक्न नहुने र एउटा स्वतन्त्र मुलुकका हिसाबले युक्रेनले निर्णय गर्न सक्ने तर्क गर्दै आएका थिए। तर जब रुस आक्रमणमा उत्रियो, युक्रेनलाई समर्थन गर्दै आएका पश्चिमा मुलुक साथ दिनबाट पछि हटे।

रुसले आक्रमण गर्दा अमेरिका तथा युरोपेली मुलुकको साथ पाउने विश्वास गरेका युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेस्कीले सोचेअनुसारको सहयोग नपाएपछि युरोपेली नेताहरूको आलोचना गरेका छन्। शुक्रबार सैनिक पोसाकमा राष्ट्रपति कार्यालयबाट सम्बोधन गर्दै उनले रुसविरुद्ध युरोपेली नेताहरूको कारबाही अपर्याप्त भएको बताए।

उनले तीव्र गतिमा कदम उठाएको खण्डमा रुसी हमला रोक्न अझै पनि समय बाँकी रहेको भन्दै युरोपेली संघका नागरिकलाई आआफ्ना देशका सरकारलाई निर्णायक कारबाहीका लागि बाध्य बनाउन आन्दोलन गर्न आग्रह गरेका छन्। तर बिहीबार साँझसम्म उनको चाहनाअनुसारको सहयोग गर्न पश्चिमा मुलुकहरू अग्रसर भइसकेका छैनन्।

बिहीबार बिहानै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध विशेष सैन्य अभियान घोषणा गरेसँगै रुसी सेनाले युक्रेनलाई घेराबन्दी गर्दै द्रुत गतिमा आक्रमण अघि बढाएको थियो। पुटिनले सुरुमा युक्रेनको पूर्वी डनबास क्षेत्रमा आक्रमण गर्ने घोषणा गरेका थिए। त्यस क्षेत्रमा अधिकांश रुसी भाषी युक्रेनीको बसोबास छ।

गत सोमबार एक सम्बोधनका क्रममा रुसी राष्ट्रपति पुटिनले आधुनिक युक्रेन पूर्णरूपमा रुसले बनाइदिएको दाबी गरेका थिए। उनले युक्रेन रुसका लागि छिमेकी मलुक मात्र नभएर रुसी इतिहास, संस्कृति र आध्यात्मिक हिसाबले पनि एक अविभाज्य हिस्सा भएको बताएका थिए।

सन् २०१४ मा युक्रेनमा रुस समर्थक राष्ट्रपतिलाई सत्ताबाट हटाइएको रिसमा रुसले युक्रेनको पूर्वी प्रायदीप क्रिमियालाई नियन्त्रणमा लिएको थियो। त्यति बेला रुसले पूर्वी युक्रेनलाई आफ्नो नियन्त्रणमा राखेका पृथक्तावादीको खुलेर समर्थन गरेको थियो। त्यसलगत्तै नेटो गठबन्धनले पूर्वी युरोपेली मुलुकहरूमा पहिले पटक गठबन्धनका सैनिक तैनाथ गरेको थियो।

यसको लक्ष्य भविष्यमा रुस नेटो क्षेत्रमा अघि बढेमा रोक्नु थियो। नेटोेले स्टोनिया, लातविया, लिथुआनिया र पोल्यान्डमा चार बटालियन सैनिक खटाएको छ। त्यस्तै रोमानियामा पनि नेटो सैनिक खटाइएको छ। रुस त्यस क्षेत्रबाट नेटो फौज हटोस् भन्ने चाहन्छ।

हालसालै पनि अमेरिकाले नेटोअन्तर्गत पोल्यान्ड र रोमानियामा तीन हजार अतिरिक्त सैनिक खटाएको छ। यसका अतिरिक्त युद्धको अवस्थाका लागि आठ हजार पाँच सय सैनिकलाई तैयारी अवस्थामा राखिएको छ। तथापि नेटो गठबन्धनले युक्रेनमा आफ्ना सैनिक खटाउने कुनै योजना नभएको बताएको छ। नेटोले युक्रेनको सहयोगका लागि २० करोड डलर बराबरका हतियार भने पठाएको छ।

जसमा अमेरिकामा निर्मित हतियारसहित एन्टी ट्यांक क्षेप्यास्त्र तथा स्टिङगर एन्टी एयरक्राफ्ट मिसाइलसमेत छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्