Logo

देउवाले दिए प्रचण्डलाई अल्टिमेटम, एमसीसीबारे संस्थागत निर्णय नगरे गठबन्धन टुट्ने चेतावनी



काठमाडौं, १४ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीका कारण सत्ता गठबन्धन टुट्न लागेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) तयार नभए आफूले गठबन्धन तोड्ने र एमालेसँग सहकार्य गर्ने बताईसकेका छन् ।

सोहीअनुसार उनले एमाले नेतृत्वसँग छलफल गरिरहेका छन् । आजपनि एमाले र कांग्रेस नेताहरुबीच छलफल हुने भनिएको छ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पनि पास गराउने र गठबन्धन पनि बचाउनेगरि मध्यमार्गी प्रस्ताव बालुवाटार लगेको चर्चा चलिरहेको छ ।

तर, प्रधानमन्त्री देउवाले भने एमसीसीबारे संस्थागत धारणा बनाउन प्रचण्डलाई आज साँझसम्मको अल्टिमेटम दिएका छन् ।

हिजो प्रचण्ड अर्थमन्त्री जनार्दन शर्मासहित प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । त्योभन्दा पहिले उनले माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए ।

तर, बालुवाटारको भेटमा प्रधानमन्त्री देउवाले प्रचण्डलाई एमसीसी पास गराउनेगरि पार्टीबाट संस्थागत निर्णय गराउनको लागि आजसम्मको समय मागेका छन् । आजसम्म एमसीसीबारे संस्थागत निर्णय नगरे एमालेसँग सहकार्य गर्ने देउवाको चेतावनी छ ।

प्रधानमन्त्रीको अल्टिमेमपछि प्रचण्डले आजै पार्टीमा छलफल चलाउने प्रतिबद्धता जनाएका छन् । स्रोतका अनुसार उनले आजै पार्टीमा छलफल चलाएर निर्णय लिने बताएका छन् ।

अहिले माओवादी केन्द्रका अधिकांश नेताहरु वर्तमान गठबन्धन जोगाएर नै अघि बढ्नुपर्ने निश्कर्षमा पुगेका छन् । यसको लागि प्रचण्डले एमसीसी सम्झौतामा भएका कतिपय बुँदाबारे व्याख्या गरेर पास गर्न सकिने नयाँ प्रस्ताव अघि सारेका छन् ।

यसअघि कांग्रेस महामन्त्री गगनकुमार थापाले पनि एमसीसीबारे संसदमा पहिले संकल्प प्रस्ताव पास गरेर अघि बढौं भनेर प्रस्ताव अघि सारिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्