काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याईएको महाभियोग पारित गर्नको लागि नल्याईएको स्पष्ट पारेका छन् । उनले भने,”अहिले यो महाभियोग, धेरैलाई ठिकै हो भन्ने लाग्न सक्छ । म कुनै व्यक्तिको पक्ष वा विपक्षमा बोलिरहेको छैन् । हामी प्रणालीतर्फ हेरिरहेका छौं । यसमा पर्ने असर हेरिरहेका छौं । यो महाभियोग के पारित गर्न लगाएको हो र ? पारित हुन्छ ? यो पारित गर्न लगाएको होईन् । यो त लम्ब्याउँदै, लम्ब्याउँदै, टँग्याउनको लागि हो, हरेक कुरालाई लम्ब्याउने । यो महाभियोग कुनैप्नि पनि दिन संसद्मा निर्णयार्थ प्रस्तुत हुँदैन् । यो न्यायिक क्षेत्रलाई अस्तव्यस्त पार्न ल्याएको हो ।”
एमाले सम्बद्ध प्रगतिशील पेशागत कानून व्यसायी संगठन (पिपिएलए) को दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले प्रधानन्यायाधीशमाथि ल्याएको महाभियोग आफूहरुले नबुझेको पनि बताए । उनले अहिले एमालेलाई संविधानभन्दा बाहिर गएर पनि हराउनुपर्छ भन्ने भावना देखिएको सुनाए ।
उनले लोकतन्त्रमा अगाडि निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले भने,संसदको आयु लम्ब्याउन पाईँदैन् । बरु, अगाडि नै निर्वाचन गराउनुपर्छ । अहिले निर्वाचन नगराउन र विकासको गतिलाई अवरोध गर्न अझैपनि षड्यन्त्र भैरहेको छ, निर्वाचन समयमा गराउन नसक्ने सरकार काम छैन् । आवधिक निर्वाचन गराउन सरकारले सक्दैन भने हामीले प्रभावकारी कदम चाल्नुपर्ने हुन्छ ।