Logo

देउवा-ओली भेटवार्ताको एजेन्डा के के ?



काठमाडौं, १४ फागुन । एमसीसी अनुमोदनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राखेको सर्तहरुबारे प्रधानमन्त्री शेरबहादुर देउवाले महत्वपूर्ण छलफल गर्दैछन् । उनी बालकोट पुगेर ओलीसँग अपरान्ह निर्णायक छलफलमा जुट्ने बुझिएको छ ।

देउवाले ओलीका मान्न सकिने सर्तबारे यसअघि नै जानकारी गराइसकेको बुझिएको छ । ओलीले सभामुख अग्निप्रसाद सापकोटाको बर्हिगमन, माधवकुमार नेपालसहित १४ सांसदलाई हटाउन सूचना टाँस्ने, प्रदेश सरकारलगायतका विषयमा सर्त राखेका छन् । विश्वस्त स्रोतका अनुसार ओली एमसीसी अनुमोदनका लागि तयार भए सभामुखको विषयमा काँग्रेस विकल्प खोज्न तयार देखिएको छ । प्रदेश सरकारमध्ये ४ वटा एमालेलाई नेतृत्वमा ल्याउन साथ दिन पनि तयार छ । तर, ओलीले सरकारको नेतृत्वको आलोपालोको सर्त राखेपछि कुरा मिल्न सकेको छैन ।

ओलीले चुनाव आफ्नो नेतृत्वमा गर्न चाहेका छन् । त्यसका लागि उनले जोडबल गरिरहेका छन् । माओवादी अध्यक्ष प्रचण्डले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव राखिसकेका छन् । तर, ओली प्रचण्डसँग मिल्न तयार छैनन् । एमसीसी अनुमोदन पनि गर्ने र सत्ताको नेतृत्वमा समेत जानसक्ने गरी ओलीले अवसर देखिरहेका छन् ।

सत्ता सुम्पनेबाहेक सबैजसो ओलीको सर्त मान्न देउवा तयार भएको बुझिएको छ । आज पनि यीनै एजेन्डामा छलफल हुने बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्