Logo

देउवा-ओली मिल्न लागेपछि यसकारण झस्किएका थिए प्रचण्ड



काठमाडौं, १५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिको हात बढाइसकेका थिए । ओली एमसीसी सदनबाट अनुमोदन गर्न सकारात्मक भइसकेका थिए । तर, उनका केही सर्त थिए ।

ओलीले सभामुखको बर्हिगमन, माधव नेपालसहित १४ सांसदको पदमुक्त भएको सूचना टाँस र सत्ता साझेदारीका कुरा पनि थिए । ओलीले प्रतिनिधिसभा विघटन गरी अर्ली इलेक्शनमा जाने प्रस्ताव पनि गरेका थिए ।

स्थानीय चुनावसँगै प्रतिनिधि सभाको चुनावमा उनको जोड थियो । त्यस अगाडि देउवाले सत्ता गठबन्धन तोड्ने र अल्पमतमा परेपछि सिधै चुनावमा जाने ओलीको सर्त थियो ।

देउवाले पनि अर्ली इलेक्शन भन्दै आएका थिए । ओलीले पनि अर्ली इलेक्शनमा जोड गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल झस्किए ।

प्रचण्ड र माधव नेपाल चुनाव पर सार्ने प्रयास गर्दै आएका थिए । तर, ओली झन् अर्ली इलेक्शन गराउन लागेपछि उनीहरुले धक्का लाग्ने देखे ।

प्रचण्ड र माधव नेपाल बैठक बसेर कुनै हालतमा ओलीलाई रोक्न लागे । त्यसका लागि एमसीसीमा लचिलो भई निकास दिन तयार भए । देउवासँग प्रचण्डले भेटेरै यसबारे जानकारी गराए ।

एमसीसीमा संकल्प प्रस्ताव पारित गरेर अनुमोदन गर्नेबारे प्रचण्डले देउवालाई प्रस्ताव पठाए । यसकारण ओलीसँग मिलिसकेको देउवाको हात रोक्किएको छ ।



प्रतिक्रिया दिनुहोस्