Logo

जर्मनीले युक्रेनलाई हतियार र मिसाइल पठाउने



एजेन्सी, १५ फागुन। युक्रेन हमलाको आज चौथो दिन रुसले युक्रेनमाथिको आक्रमण तीव्र बनाएको छ । यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विभिन्न देशबाट समर्थन जुटाइरहेका छन्। सोही समयमा जर्मनीले युक्रेन सम्बन्धित नीतिमा ठूलो परिवर्तन गरेको छ । जर्मनीले युक्रेनलाई हतियार पठाउने भएको जर्मन चान्सलर ओलाफ शुल्ट्जले बताएका छन्।

उनले जर्मनीले युक्रेनलाई १ हजार ट्याङ्क विरोधी हतियार र ५ सय वटा सतहबाट हावामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र पठाउने स्पष्ट पारे । जर्मनीले युक्रेनमा रूसको आक्रमणको निन्दा गरेको छ। यस प्रक्रियामा द्वन्द्व वा युद्ध क्षेत्रहरूमा हतियारको निर्यातमा प्रतिबन्ध लगाउने आफ्नो पुरानो नीति परिवर्तन गरेको छ। युक्रेनका राष्ट्रपतिले जर्मनीको यो कदमको प्रशंसा गरेका छन् ।

योसँगै जर्मनीको यातायात मन्त्रीले रुसी एयरलाइन्सलाई आफ्नो हवाई क्षेत्रमा रोक्ने बताएकी छन् । इस्टोनिया, पोल्याण्ड, बुल्गेरिया र चेक रिपब्लिकले पनि रुसवीरूद्ध यस्तै प्रतिबन्ध लगाएका छन्।

युक्रेनलाई धेरै देशले सहयोग गरिरहेका छन्। आक्रमणको चौथो दिन, युक्रेनले पश्चिमी देशहरूबाट हतियारसम्बन्धी सहयोगको आश्वासन पाएको छ। अमेरिकी विदेश मन्त्रालयले युक्रेनलाई जेभलिन एन्टी ट्याङ्क मिसाइल, एन्टि-एयरक्राफ्ट सिस्टम सहित ३५० मिलियन डलर बराबरको हतियार पठाउने बताएको छ ।

जर्मनीले युक्रेनलाई हजारौं एन्टिट्याङ्की हतियार र पाँच सय सतहबाट हावामा हान्न सक्ने मिसाइल पठाउनेछ। नेदरल्याण्डले युक्रेनलाई ५० वटा ट्याङ्क विरोधी हतियार र चार सय रकेट दिने  जनाइएको छ । नेटोले पूर्वी युरोपमा थप सेना तैनाथ गर्न थालिसकेको छ।-बीबीसी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्