काठमाडौँ, १५ फागुन: राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायसम्बन्धीको आधारभूत मान्यतालाई आत्मसाथ गर्दै सम्बद्ध पक्षले न्यायनिरुपण प्रक्रियलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छिन् ।
आजदेखि काठमाडौँमा सुरु भएको नेपाल बारएशोसिएशनको १५औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले कतिपय प्रश्नको निरुपण गर्ने क्रममा स्वतन्त्र न्यायापालिकाको मर्म र मान्यतालाई अक्षुण राख्न कानुन व्यवसायीको अहंम भूमिका रहने बताईन् । ढिलो न्याय पाउनु भनेको न्याय नपाउनु सरह भएको र न्यायमा पहुँच पु¥याउने सन्दर्भमा कानुन व्यवसायीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले भनिन्, “निर्दाेशले सजाय पाउनु अझै ठूलो अन्याय हो ।”
राष्ट्रपति भण्डारीले कानुन व्यवसायीलाई आफूलाई अध्यावधिक गर्दै लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समता र न्यायपूर्ण समाज निर्माणमा समर्पित हुन आग्रह गरीन्। भूमण्डलीकरणको प्रक्रिया तीव्र रुपमा अघि बढेसँगै समग्र कानुनी प्रक्रियाले व्यापकता लिँदै आइरहेको सन्दर्भ जोड्दै उनले यस परिस्थितिमा अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्नसक्ने कानुनका गुणस्तरीय जनशक्तिको माग बढाएको बताईन् ।
उनले कानुनको अध्ययन-अध्यापन हुने प्राज्ञिक संस्थामा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै योग्य, सक्षम र चरित्रवान कानुनका अनुसन्धानकर्ता तथा कानुन व्यवसायी उत्पादन गर्ने विषयमा पहल गर्न नेपाल बारलाई आग्रह गरीन् । राष्ट्रपति भण्डारीले स्वतन्त्र न्यायपालिका, कानुनको शासन, संधिवानको सर्वाेच्चता, मानवअधिकार र कानुन व्यवसायीको हकहित र न्यायका उपभोक्ताको अपेक्षा पूरा गर्न न्यायपालिकाको अभिन्न अङगको रुपमा रहेकाले बार एशोसिएशनले थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिईन ।
विपन्न वर्ग र आर्थिक अवस्था कमजोर भएका नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्न बारले निःशुल्क कानुनी सहायता उपलब्ध गराउँदै आएकोमा उनले सराहना गरीन् । राष्ट्रपति भण्डारीले विश्वव्यापी जलवायु परिवर्तनको सङ्कटले चुनौती थपिरहेको सन्दर्भमा पारिस्थितिकीय प्रणालीलाई सुदृढ तुल्याउनका लागि न्यायिक क्षेत्रबाट प्रभावकारी कदम चाल्नुपर्ने विषयमा बारको ध्यानाकर्षण गराईन् ।-रासस/File Photo