काठमाडौं, १५ फागुन । नाबालिगमाथि यौनजन्य अपराध गरेको उजूरी पछि प्रहरी अनुसन्धानका लागि नियन्त्रणमा लिइएका अभिनेता पल शाहबारे चासो बढेको छ । उनी जिल्ला प्रहरी कार्यालय तनहुँमा ७ दिन हिरासतमा राखिने निश्चित भइसकेको छ ।
अनुसन्धानका लागि भन्दै प्रहरीले ७ दिन न्यायिक हिरासतमा राख्न अदालतबाट म्याद लिएको छ । प्रहरीले उनीमाथि हिरासतमा राखेर अनुसन्धान थालेपनि कति दिन लगाएर टुंगो लगाउने हो चासो बनेको हो । अनुसन्धानपछि उनीमाथि मुद्दा दायर गर्ने हो या होइन भन्ने पनि छ ।
पल शाहमाथि गायिका समिक्षा अधिकारीले आफूमाथि यौनजन्य अपराध गरेको भन्दै आरोप लगाएपछि उनका पिताले उजूरी दर्ता गरेका थिए । यही विषयसँग सम्बन्धित अर्को उजूरी नवलपरासीमा दर्ता भएको छ ।
उजूरी दर्ता गर्ने १६ वर्षकी छिन् भने पल शाह ३२ वर्षका छन् । उनीहरुबीचको विवाद लामो समययता चल्दै आएको थियो ।