Logo

राष्ट्रिय वाणिज्य बैंकले गर्यो त्रि.वि अर्थशास्त्र केन्द्रीय विभागसँग सम्झौता



काठमाडौं, १६ फागुन । राष्ट्रिय वाणिज्य बैंकले त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागसँग सम्झौता गरेको छ । त्रिविले एमए र एमफिल गरिरहेका विद्यार्थीहरुलाई अनुसन्धनात्मक शोधग्रथ लेखन कार्यका लागि सहयोग गर्ने सम्बन्धमा आईतबार बैंकसँग सम्झौता गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र त्रि.वि.अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा.शिवराज अधिकारीले हस्ताक्षर गरेका हुन् ।

समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले अनुसन्धानबाट आउने प्रतिवेदनले बैंक र देशकै आर्थिक क्षेत्रलाई अगाडि बढाउन मद्धत पुग्ने विश्वास लिएको बताए ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले गर्ने लगानीका क्षेत्रहरुमा हुने जोखिम तथा सम्भावनाहरुको बारेमा यथार्थपरक ढङ्गबाट अनुसन्धान भई आगामी दिनमा बैंकलाई रणनीतिक ढङ्गबाट अगाडि बढ्न दिशानिर्देश गर्ने बताए ।

त्रि.वि.अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा.शिवराज अधिकारीले विभागले विभिन्न वित्तीय क्षेत्रसँग यस्तो सम्झौता गरिरेहकाले प्राप्त हुने अनुसन्धनात्मक प्रतिवेदनले देशको अर्थतन्त्रमा योगदान पुग्ने बताए ।

उनले त्रि.वि.अर्थशास्त्र केन्द्रीय विभागले माग गरी प्राप्त प्रस्ताबमध्ये उत्कृष्ठ पाँच प्रस्ताबलाई छनौट गरी बैंकसँगको सहकार्यमा अनुसन्धान क्षेत्र तोकी शोधग्रन्थ तयार गर्ने विद्यार्थीहरुलाई सहयोग रकम उपलब्ध गराइने बताए ।

बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा एटिएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot