Logo

रुसी सेनाले सबै दिशाबाट आक्रमण थालेको युक्रेनी सेनाको दाबी



एजेन्सी, १६ फागुन। रुसी सेनाले सबै दिशाबाट आक्रमण गर्न थालेको युक्रेनी सेनाले जनाएको छ । लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले रुसी सेनाले लगभग सबै दिशाबाट आक्रमण गरिरहेको बीबीसीले जनाएको छ।

रुसी सेनाले आक्रमण गरे पनि खार्किभ युक्रेनी फौजकै नियन्त्रणमा रहेको त्यहाँका गभर्नरले दाबी गरेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अबको २४ घण्टा आफ्नो देशका लागि निकै कठिन र महत्त्वपूर्ण हुने बताएका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन संवादको क्रममा उनले अबको समय निर्णायक हुने बताएका हुन् । यस्तै, युरोपेली सङ्घ ईयूले युक्रेनलाई हतियार पठाउने काम गरिरहेको छ।

ईयूले रुसी विमानलाई आफ्नो हवाई क्षेत्र भएर उड्न र रुसी सरकारी सञ्चारमाध्यममाथि पनि प्रतिबन्ध लगाउँदैछ । यसैबीच, पारमाणिक बललाई उच्च सतर्क अवस्थामा राख्ने रुसी कदमको अमेरिकाले विरोध गरेको छ । यस्तै, रुसको साथ दिँदै आएको बेलारुसले परमाणु हतियार प्रयोग गर्न वा राख्नका लागि आफ्नो संविधान नै परिवर्तन गरेको छ।

सोभियत युनियनको पूर्व सदस्य तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकै नजिकको सहयोगी बेलारुसले परमाणु हतियार बन्देज गर्ने संवैधानिक व्यवस्था नै परिवर्तन गरेको हो । जनमतसङ्ग्रहमार्फत बेलारुसले नयाँ संविधान लागू गर्ने निर्णय गरेको हो। नयाँ संविधानले बेलारुसलाई परमाणु हतियारविहीन राष्ट्रको पहिचान खारेज गरेको छ । अब बेलारुसले परमाणु हतियार राख्न पाउने भएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्