काठमाडौं, १६ फागुन । कामना सेवा विकास बैंकले थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले रूपन्देहीको देवदह नगरपालिका–८, अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सीतापुर र लमजुङको मध्य नेपाल नगरपालिका–७ रामबजारमा बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यले बैंकले सेवा विस्तार गरेको जनाएको छ । देवदह नगरपालिकामा देवदह मोबाइल एण्ड कम्प्युटर, शितगंगा नगरपालिकामा सचिन मोबाइल सेन्टर र मध्यनेपाल नगरपालिकामा इशानेश्वर इलेक्टोनिक्सलाई बैंकले व्यवसायिक प्रतिनिधि नियुक्त गरेको हो ।
देवदह रूपन्देहीमा बैंकका सञ्चालक भीमप्रसाद तुलाचन र देवदह नगरपालिका–८ का वडाध्यक्ष्य डण्डपाणी भट्टराई, मध्य नेपाल, लमजुङमा बैंकका सञ्चालक चतुराखर अधिकारीले बैंकिङ्ग सेवाको उद्घाटन गरी सेवा आरम्भ गरेका हुन् ।
त्यस्तै, अर्घाखाँची जिल्लाको सितगंगा–२ सीतापुरमा शितगंगा नगरपालिका–२ का वडा अध्यक्ष्य गोवर्द्धन थापाले शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरी सेवा आरम्भ गरेका हुन् । शाखारहित बैंकिङ सेवामार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरू प्रदान गरिने बैंकले जनाएको छ ।