Logo

युक्रेनको आकाशमा रुसी वायुसेना हावी: रुसी रक्षा मन्त्रालय



एजेन्सी, १६ फागुन। रुसी रक्षा मन्त्रालयले युक्रेनको आकाशभरि रुसको वायुसेनाको कब्जा भएको दाबी गरेको छ । आज (सोमबार) बिहानसम्म युक्रेनको आकाशभरि रुसको वायुसेनाको कब्जा भएको रुसी रक्षा मन्त्रालयले दाबी गरेको हो।

जमीनमा रुसी सैनिकहरू राजधानी किभलाई घेर्न सफल भएसँगै रुसी वायुसेना पनि हावी भएको बुझिएको छ । रुसी सेनाले युक्रेनका आठवटा हवाई प्रतिरक्षा प्रणाली बुक एम–१, एस–३००, जमीनमा रहेका चारवटा कम्ब्याट विमान र आकाशमा उडिरहेको एक कम्ब्याट विमान पनि ध्वस्त पारेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

अहिलेसम्ममा युक्रेनका ११ सय १४ जंगी संरचना र ३१४ वटा ट्यांक ध्वस्त भएका छन् । त्यस्तै ३१ वटा कमान्ड पोस्ट, १२१ वटा आर्टिलरी र मोर्टार पीसहरू पनि नष्ट गरिएको छ । रुसी सेनाले बेरड्यान्स्क र एनरगोदार शहरहरू पनि कब्जा गरेको रुसी रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, रुसको आक्रमणबाट विश्वकै सबैभन्दा ठूलो विमान ‘एन्टोनोभ–२२५’ ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा खबर छ । युक्रेनको राजधानी कीभ नजिकै गोस्टोमेल एयरफिल्डमा मर्मतको क्रममा रहेको ‘एन्टोनोभ–२२५’ रुसी आक्रमणमा परि ध्वस्त भएको युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले जानकारी गराएका हुन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्