Logo

एमसीसीबारे व्याख्यात्मक घोषणा आफ्नो आईडिया भएको प्रचण्डको दाबी, गगन थापाले किन झुटो प्रचार गराए ?



काठमाडौं, १६ फागुन । एमसीसी पारित भएसँगै मुलुकको राजनीति नयाँ तरिकाले अघि बढेको छ। हिजो बसेको संसद् बैठकमार्फत एमसीसी अनुमोदन भएको छ। उक्त बैठकमार्फत एमसीसीबारे व्याख्यात्मक घोषणापनि पारित भएको छ। लामो समयसको रस्साकस्सीबीच एमसीसी हिजो पास भएको छ ।

एमसीसी पास भएकोमा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस उत्साही छ । यसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको तारिफ भैरहेको छ। उनले वाहवाही पाएका छन् । देउवाले मुलुकको राजनीतिलाई सही दिशा दिएको र मुलुकलाई अप्ठ्यारोमा पर्नबाट बचाएको भनेर चर्चा भैरहेको छ ।

एमसीसी पास भएको भोलिपल्ट आज (सोमबार) पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिएका छन् । उनले संसदबाट एमसीसी पारित गर्दा अर्को कुनै प्रस्ताव पनि सँगै पारित गर्ने उपाय आफूले निकालेको दाबी गरेका छन् । मिडियामा व्याख्यात्मक घोषणा पारित गर्ने कुराको जस भने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लिएका छन् । तर, दाहालले यसअघि एमसीसी पारित नहुँदैको अवस्थामा पनि संकल्प प्रस्ताव पारित गरेरमात्रै एमसीसी अघि बढाउनुपर्ने बताएका थिए । उनले विभिन्न राजनीतिक कार्यक्रममा एमसीसीमा सबै दलबीच सहमति हुनुपर्ने बताउँदै आएका थिए ।

दाहालले आज पनि यो कुरा दोहोर्याए । उनले आफूले त्यसबेला संसदबाट अर्को कुनै प्रस्ताव समानान्तर रूपमा पारित गर्ने कुरा राख्दा तत्कालीन प्रतिपक्षी नेता शेरबहादुर देउवा सहमत भएको तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नमानेको उनले स्मरण गराए ।

पत्रकार सम्मेलनको क्रममा दाहालले भने,‘मैले संकल्प प्रस्ताव वा अरु केही नाम दिएर एमसीसी पारित गरौं भनेको थिएँ । देउवा यसमा तयार हुनुहुन्थ्यो । तर, केपी ओलीले चाहिँ जस्ताको तस्तै पारित गर्नुपर्ने अडान लिनुभयो । एमसीसीमा एक अक्षर पनि परिवर्तन नहुने अडान लिएपछि यो प्रस्ताव अघि बढेन ।’

उनले आफूले एमसीसीलाई प्रधानमन्त्री देउवासँग मिलेर पत्र लेख्नुको उद्देश्यपनि यसमा सबै दलबीच सहमति खोज्न खोज्नु नै रहेको सुनाए । आफूले राष्ट्रिय सहमति बनाएर पारित गर्ने कुरा गर्दा त्यसलाई विद्रुपीकरण (भल्गराईजेशन) गरिएको प्रचण्डले गुनासो गरे ।

उनले एमसिसी व्याख्यात्मक घोषणासहित पारित भएकोमा आज आफू निकै खुसी भएको पनि प्रतिक्रिया दिए । आफूले सुरूदेखि नै एमसिसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेकाले एमसिसी पारित हुँदा खुसी भएको बताए ।

एमसिसीसँगै पारित भएको १२ बुँदे व्याख्यात्मक घोषणाको कानुनी हैसियत हुने भन्दै उनले यसले नेपालको राष्ट्रिय सुरक्षालगायत विषय स्पष्ट पारेको पनि स्पष्ट पारे । व्याख्यात्मक घोषणाको लागि आफूलाई आईडिया भने कुटनीतिज्ञ अर्जुनबहादुर थापा, अन्तर्राष्टिय कानूनका ज्ञाता प्रा.डा. सूर्यप्रसाद सुवेदी र अधिवक्ता गोविन्द बन्दीले दिएको भन्दै उनीहरुको नामा पनि लिएका थिए ।

व्याख्यात्मक घोषणाको जस भने गगन थापाले लिन खोजेका छन् । पछिल्लो समय प्रधानमन्त्री देउवाले पार्टीको तर्फबाट हुने राजनीतिक भेटवार्तामा थापालाई सहभागी गराएको र संसद्मा पनि उनले सम्बोधन गरेकोले थापाले यसको जस लिन खोजेको भनेर आलोचना भएको छ ।

तर, आज प्रचण्डले पत्रकार सम्मेलन नै गरेर व्याख्यात्मक घोषणा आफ्नो आईडिया भएको दाबी गरे । यसले गगन थापाको झुटको पर्दाफास भएको छ । थापा आँफैले भने व्याख्यात्मक घोषणा आफ्नो प्रस्ताव हो भनेर सार्वजनिक रुपमा भनेका छैनन् । तर, उनीनिकटका मिडियाले भने व्याख्यात्मक घोषणालाई गगनको नयाँ प्रस्तावको रुपमा प्रस्तुत गरेर समाचार लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot