Logo

युक्रेनलाई कुन देशले कस्तो हतियार दिए ?



एजेन्सी, १६ फागुन । रुसले हमला नगर्दै युक्रेनलाई अमेरिकासहितका देशहरुले हतियारसहितको सैन्य सहयोग पठाएका थिए । हमलापछि थप देशहरुले सैन्य सहयोग पठाएका छन् ।

युक्रेनलाई सैन्य सहयोग पठाउनेमा असंलग्न नीति लिएको स्वीडेन पनि छ । यसबाहेक जर्मनी र इटालीले पनि सैन्य सहयोग गरेका छन् । यसअघि जर्मनी र इटाली रुससँग निकै नजिकको सम्बन्ध राख्दै आएका थिए ।

अमेरिकी राष्ट्रपति जोन वाइडेनले २५ फेब्रुअरीमा थप साँढे ३५ करोड मूल्यको हतियार पठाउने निर्देशन दिएका थिए । युक्रेनले लडाकु विमान खसाल्ने हतियार मागेको थियो । अमेरिकाले एक अर्ब डलर भन्दा बढीको सुरक्षा सहायताको घोषणा गरिसकेको छ ।

सहयोग प्रदान गर्नेमा बेलायत पनि छ । फ्रान्सले सैन्य सामाग्री र इन्धन सहयोग गरेको छ ।

नेदरल्यान्डले एन्टी ट्याँक हतियार पठाएको छ । उसले प्रतिरक्षा रकेटहरु पनि पठाएको छ ।

जर्मनीले एन्टी ट्याँक हतियार एक हजार र हवाई मिसाइल ५०० वटा पठाएको छ ।

क्यानडाले सैन्य सामाग्री पठाएको छ । उसले झण्डै ४० करोड क्यानडियन डलर ऋण सहयोग दिने भएको छ ।

सन् १९३९ मा सोभियत संघले फिनल्यान्डमाथि हमला गरेपछि स्वीडेनले सैन्य सहयोग गरेको थियो । त्यसयता कसैलाई सैन्य सहयोग नगरेको असंलग्न नीति लिएको स्वीडेनले ५ हजार एन्टी ट्यांक रकेट युक्रेनमा पठाएको छ ।

बेल्जियमले युक्रेनलाई ३ हजार भन्दा बढी स्वचालित राइफल र २०० एन्टी ट्यांक पठाउने भएको छ । त्यसबाहेक ३८०० टन इन्धन पठाउने भएको छ ।

पोर्चुगलले नाइट भिजन गगल्स, बुलेटप्रुभ भेष्ट, हेल्मेट, ग्रिनेड र स्वचालित जी ३ राइफल दिने भएको छ ।

ग्रीसले पनि रक्षा सामाग्री पठाउने भएको छ । रोमानियाले ३३ लाख डलर बराबरको सैन्य सामाग्री पठाउनुको साथै युद्धमा घाइतेको उपचार गर्न ११ वटा उसका सैनिक अस्पतालमा अवसर प्रदान गर्ने भनेको छ ।

स्पेन सरकारले २० टन सहयोग पठाउने प्रतिवद्धता जनाएको छ । जसमा सैन्य सामाग्री र बुलेटप्रुफ भेष्ट पनि छन् ।

चेक रिपब्लिकले ४ हजार मोटार, ३० हजार पेस्तोल, ७ हजार राइफल्स, ३ हजार मेसिन गन्स र लाखौं गोली पठाउने प्रतिवद्धता गरेको छ ।



प्रतिक्रिया दिनुहोस्