Logo

महाशिवरात्रिको अघिल्लो दिन : पशुपति क्षेत्र यसरी सिंगारियो, भक्तजनहरुको चहलपहल (फोटोफिचर)



काठमाडौं । महाशिवरात्रिको अघिल्लो दिन पशुपति क्षेत्रमा भक्तजनहरुको चहलपहल बढेको छ । महाशिवरात्रिको अघिल्लो दिन अघिपछि भन्दा भक्तजन र साधुसन्त तथा बाबाहरुको उपस्थिति बढी देखिएको हो ।

शिवरात्रिको अवसरमा नेपालसहित भारत र श्रीलंकाबाटसमेत साधुसन्त तथा बाबाहरुको उपस्थिति हुने गरेको छ । यस वर्ष साधु सन्तका लागि धुनी जगाउन गुठी संस्थानले पाशुपत क्षेत्रको निर्मल, भष्मेश्वर, राम मन्दिर, श्री गोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायतका क्षेत्रमा ३३ हजार किलो दाउराको व्यवस्था गरेको छ ।

यसैगरी नागा बाबाका लागि भने पशुपतिनाथको मुल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिने संस्थानले जनाइएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा सहज दर्शनका लागि व्यवस्थापन चुस्त बनाएको पशुपति क्षेत्रविकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए।

उनले आजसम्म लगभग १५ हजार जना साधुसन्त आइसकेको र यो संख्या भोलिसम्म ५० हजारसम्म पुग्ने क्षेत्रविकास कोषको अनुमान रहेको बताए । त्यस्तै १० लाख दर्शनार्थीहरुले शिवरात्रीमा पशुपतिनाथको दर्शन गर्ने पनि बताए ।

कार्यकारी निर्देशक खतिवडाले भने, ‘काम ९५ प्रतिशत सकिसकेको छ, भोलिसम्म नै काम भइरहन्छ, अहिलेसम्म १५ हजार लगभग साधुसन्तहरु आइसकेको र यो संख्या ५० हजारसम्म पुग्ने अनुमान रहेको छ, त्यस्तै १० लाख भन्दा धेरै भक्तजनहरु दर्शनका लागि आउने अनुमान गरेका छौँ भने ट्राफिक व्यवस्थापन पनि हामीले गरेका छौँ । भोलि चाबहिलदेखि एयरपोर्टसम्म नै यातायात अवरुद्ध हुन्छ ।’

क्षेत्र विकास कोषले अहिलेसम्म भोलि महाशिवरात्रीका लगभग सबै काम सकिएको बताएको छ । महाशिवरात्रीका लागि पशुपति परिसर फूलमालाहरुले सजाइएको छ भने झिलीमिली बत्तीहरुले झकिझकाउ बनाइएको छ ।

 

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot