काठमाडौं, फागुन १७ ।काठमाडौं–तराईरमधेस द्रुत मार्गमा पर्ने सुरुङ मार्गको निर्माण सुरु भएको छ । द्रुत मार्गमा तीनवटा सुरुङ बन्ने डिजाइन गरिएको छ । द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाका अनुसार द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्गको डिजाइन सम्पन्न भई स्वीकृतसमेत भइसकेको छ।
सैनिक प्रवक्ता नारायण सिलवालले सुरुङ मार्गका दुइटै प्याकेजको डिजाइन तथा ड्रइङ स्वीकृत भई साइट क्लियरेन्स र प्रिप्रेसन तथा क्याम्प स्थापना गरी अहिले सुरुङ मार्ग निर्माण सुरु भएको जानकारी दिए । उनका अनुसार अबको तीन वर्षभित्र सुरुङ मार्गको निर्माण सम्पन्न हुनेछ । ।
दुई चरणमा निर्माण गरिने सुरुङ तथा मोटरेबल पुल निर्माणका लागि गत वैशाख ३१ गते नेपाली सेनाले दुईवटा चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । सुरुङको प्याकेज(१ का लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र प्याकेज–२ का लागि पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार दुईवटै प्याकेजको निर्माण तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । गोरखापत्र दैनिकबाट