Logo

‘व्याख्यात्मक विश्लेषण’ अमेरिकासँग परामर्श गरेर तयार गरिएको खुल्यो, राजदूत रेन्डी बेरीको त्यो भूमिका



काठमाडौं, १७ फागुन । एमसीसीको विपक्षमा उभिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई यू टर्न गराउन अमेरिकी राजदूत रेन्डी बेरीले भूमिका खेलेको बुझिएको छ । बेरीले नेताहरुलाई प्रत्यक्ष र विभिन्न माध्यमले सम्पर्क गरी मनाएको बुझिएको छ ।

एमसीसीमा संशोधनको अडान राख्दै आएका प्रचण्ड र माधव नेपालले अन्तिममा व्याख्यात्मक विश्लेषण सहमतिको बिन्दु हुनसक्ने भनी प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गरेका थिए । सत्ता गठबन्धन जोगाउन देउवा पनि चाहन्थे । प्रचण्ड र माधव नेपालका लागि गठबन्धन झन् महत्वपूर्ण थियो । तर, एमसीसीको विरोधमा उत्रिएकाले ‘फेस सेभ’ अनिवार्य थियो । उपाय व्याख्यात्मक विश्लेषण निस्कियो ।

विश्वस्त स्रोतका अनुसार व्याख्यात्मक विश्लेषण ड्राफ्ट भयो । त्यसको अंग्रेजीमा उल्था गरियो । १४ फागुनको साँझ अमेरिकी राजदूत रेन्डी बेरी निकै सक्रिय भए । उनले ड्राफ्टबारे अध्ययन गरे । त्यसलाई एमसीसीको प्रधान कार्यालय अमेरिकामा पठाएपछि सकारात्मक जवाफ आएपछि व्याख्यात्मक विश्लेषणसहित एमसीसी अनुमोदन भएको बुझिएको छ ।

अमेरिकासँग परामर्श गरेरै व्याख्यात्मक विश्लेषण बनेकोले प्रचण्डले त्यसको जस लिन समेत खोजेका छन् । यसकारण व्याख्यात्मक विश्लेषणलाई आफ्नो जितका रुपमा प्रचण्डले देखाउन खोजेका छन् ।

एमसीसीमा व्याख्यात्मक विश्लेषण गराएर अनुमोदन समेत गराउनुलाई प्रचण्डले आफ्नो रणनीतिक सफलताका रुपमा प्रस्तुत गरिसकेका छन् । उनले यो घटनाक्रमसँगै सत्ता गठबन्धन अझ बलियो र टिकाउ भएको पत्रकार सम्मेलनमार्फत् १६ फागुनमा सन्देश दिइसकेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot