Logo

माओवादी फुटको संघारमा, कस्को के तयारी ?



काठमाडौं, १७ फागुन । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सदनबाट ध्वनीमतले अनुमोदन गरेसँगै नेकपा माओवादी केन्द्रभित्रको एकता संकटमा परेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले पार्टीभित्र समस्या आएको खुलाइसकेका छन् ।

प्रचण्डले १६ फागुनमा खुमलटारमा पत्रकार सम्मेलन गरेर नारायणकाजी श्रेष्ठको नामै लिएर विगतमा महाकाली सन्धीको विरोध गरेर बामदेव गौतमले नयाँ पार्टी खोलेको उदाहरण दिई त्यस्तो गल्ती नगर्न भने । जनता र कार्यकर्ता श्रेष्ठको पछि नलाग्ने समेत भनेर आफ्नो बाटो लाग्न कसैले नरोक्ने अभिव्यक्ति दिए ।

श्रेष्ठले एमसीसीबारे सार्वजनिक रुपमै विरोध गरेका छन् । यसले प्रचण्डलाई अप्ठ्यारो परेको छ । बाहिर नबोल्ने सहमति उल्लंघन गरेको भन्दै प्रचण्डले श्रेष्ठलाई चेतावनी समेत दिएका छन् ।

एमसीसी अनुमोदन भएकोमा श्रेष्ठसहित उनी पक्षीय नेताहरु लिलामणि पोखरेल र गिरिराजमणि पोखरेल पनि सार्वजनिक रुपमा विरोधमा छन् । तीनैजना नेताहरु विगतमा एकता केन्द्रमा थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि मात्र एकता भएको थियो ।

एमसीसीको विषयले माओवादीभित्र ‘जनयुद्ध’ मा सहभागी भएका र नभएकाहरुको कित्ताकाट भएको छ । यसले धाँजा समेत फाटिसकेको छ । कुनैपनि बेला माओवादी फुट्ने अवस्था विकास भइसकेको छ ।

यसैगरी, माओवादीले एकताको प्रयास गरेका पूर्वमाओवादी नेताहरु नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरण, सीपी गजुरेललगायत पनि प्रचण्डसँग चिढिएका छन् । उनीहरुले एमसीसी अनुमोदन भएको विरोध कार्यक्रम गर्दै आएका छन् । प्रचण्डको एमसीसीमा ‘यु टर्न’ले पूर्वमाओवादीभित्रको सम्भावित एकता पनि तत्काललाई टरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot